एसईईको नतिजा आगामी बिहीबारसम्म सार्वजनिक गरिने

हिमाली आवाज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी बिहीबारसम्म सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बिहीबार भित्रै नतिजा प्रकाशित गर्ने गरी तयारीको काम भइरहेको जानकारी दिनुभयो ।

‘सकभर चाँडो नै एसईईको नतिजा विद्यार्थीलाई दिने गरि काम भईरहेको छ,’ उहाँले भन्नुभयो, ‘ढिलोमा शुक्रबारसम्ममा रिजल्ट आइसक्छ ।’
बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएको छ । तयारीको काम पूरा हुन साथ बोर्डको बैठक डोकेर नतिजा सार्वजनिक गरिने त्यहाँका कर्मचारीहरूले बताउनुभयो ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन्। तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेका छन् ।

Comments
Loading...