गण्डकी प्रदेशभर सेवा दिने गरी ‘ई–ड्राइभ’ राइड शेयरिङ सञ्चालनमा आउँदै

हिमाली आवाज । प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो ।गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ ।

यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिनुभयो ।‘पहिलो चरणमा पोखरामा विद्युतीय कार, मोटरसाइकल, स्कुटरजस्ता सवारीमार्फत सेवा दिनेछौं । पोखरामा २५ वटा आफ्नै विद्युतीय सवारी सञ्चालनमा ल्याइनेछ’, कार्कीले भन्नुभयो ।

एक हजार बढी मोटरसाइकल र स्कुटरसँगै भाडाका सवारीसाधन कम्पनीसँग आबद्ध भएको उहाँले जानकारी दिनुभयो । आवद्ध हुन चाहने थप सवारीले एप डाउनलोड गरेर रजिस्ट्रेसन गर्न सक्ने बताइन्छ ।भाडाका सवारीसाधन सरकारले तोकेकै दरमा प्रयोग हुने कार्कीले बताए । उनले थपे, ‘७० वर्ष पूरा भएका वृद्धवृद्धा, अशक्त, अपांग, सुत्केरी, महिला, विद्यार्थी र दैवि प्रकोपमा परेकालाई छुटसहितको सेवा दिनलाई कम्पनी प्रतिबद्ध छ ।’

विद्युतीय एम्बुलेन्स संचालनमा ल्याउने प्रालिको योजना छ । एम्बुलेन्सले गरिव विपन्न वर्गलाई सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क सेवा प्रदान गर्ने तयारीमा छ ।

यात्रुको सुरक्षालाई ध्यानमा राखेर ई–ड्राइभमा नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ ? भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने अध्यक्ष कार्कीले उल्लेख गर्नुभयो । ‘यात्रुले यात्राका क्रममा आफुलाई असुरक्षित महसुस गरेमा एपबाटै आकस्मिक बटन थिचेर प्रहरी र ई–ड्राइभ कन्ट्रोल रुममा जानकारी दिन मिल्नेछ’, उहाँले भन्नुभयो,‘यो एपबाटै ३ जना आफन्तलाई लोकेसन शेयर गर्न मिल्ने फिचरसमेत उपलव्ध छ ।’

ई–ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्ण रुपमा सुरक्षित रहने दाबी गरिएकोे छ । सबै सवारीको नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीमैत्री रहेकोे ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले बताउनुभयो ।

मास्केका अनुसार दुर्घटनाको जोखिमलाई ध्यान दिएर ई–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख रुपैयाँ बराबरको बिमा गरिनेछ । ७० हजार रुपैयाँसम्मको उपचार खर्चको व्यवस्था कम्पनिले गर्ने उल्लेख गरेको छ ।ई–ड्राइभले काठमाडौं उपत्यका र लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा सेवा दिदैं आइरहेको छ । गण्डकी प्रदेशसँगै कोशी प्रदेश र लुम्बिनीको नेपालगन्जमा सेवा विस्तारको चरणमा हो ।

आम नागरिकलाई सरल, सहज र विश्वसनीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको मास्केले बताउनुभयो ।वातावरणमैत्री विद्युतिय सवारीलाई सञ्चालनमा ल्याएर पर्यावरणमैत्री शहर निर्माणमा सघाउने उदेश्य रहेको कम्पनीले जनाएको छ ।

ई–ड्राइभ नेपालका अध्यक्ष मास्केले बजारमा भएका ट्याक्सी समितिसँग भिड्न नभइ सहजीकरण गर्न आएको बताउनुभयो । ‘ट्याक्सी चालकको रोजरोटी खोस्न आए, भिँड्न आए भनेर जुन चर्चा भइरहेको छ । यी कुराहरु नितान्त गलत हो । हामी उहाँहरुलाई सहजीकरण गर्न आएका हौं’, उहाँले भन्नुभयो ।सबै प्रक्रिया पूरा गरेर दर्ता गरेकाले अब सरकारको तर्फबाट बन्ने कार्यविधीको पखाईमा रहेको उल्लेख गर्नुभयो ।

Comments
Loading...