हिमाली आवाज । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् ।
राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका पाँच पालिकाका ७२ वडाका कूल ३० हजार ७४ बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
“एक पटक पूर्ण खोप घोषणा गरिसके पछि हरेक वर्ष नयाँ थपिने बालवालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ ।” स्वास्थ्य कार्यलयका प्रमुख नेपालीले भन्नुभयो ।कास्की जिल्लालाई विसं २०७५ असार २७ गते पहिलोपटक पूर्ण खोप घोषणा गरे पश्चात नयाँ जन्मने तथा अन्यत्रबाट जिल्लामा आई वसोवास गर्ने सवै बालवालिकाले पाउनु पर्ने सवै खोप पाएको पाएको उहाँले बताउनुभयो ।

स्थानीय तहका वडाहरुवाट स्वास्थ्यकर्मीको सङ्लग्नतामा तयारी र योजना सहित घरधुरी सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालवालिका भेटिए तत्काल खोप लगाउने व्यवस्था समेत मिलाई सवै बालवालिकाले उपलब्ध सवै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ । सवै वडा घोषणा भएपछि पालिका र सवै पालिका घोषणा भएपछि जिल्ला घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा घरधुरी सर्वेक्षणका क्रममा भेटिएका खोप पूरा नगरेका एक सय ४० जना बालवालिकाहरुलाई खोप लगाइएको थियो । यसैगरी १५ महिनासम्मका सात हजार दुई सय २७ जना बालबालिकालाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।यसैगरी १६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार आठ सय ४७ बालबालिकालाई खोपको पहुँचमा ल्याइएको छ ।
कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्था तथा खोप केन्द्रहरु मार्फत नियमित खोप सेवा प्रदान हुदै आएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दु कुमार थापाले खोपले बालबालिकाहरूलाई विभिन्न रोगबाट सुरक्षित रहन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणापछि छिट्टै गण्डकी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिने जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताउनुभयो ।यसअघि जिल्लामा रहेका पाँच वटा स्थानीय तहलाई गत वैशाख र जेठमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिसकिएको थियो ।