पोखराको सेतीमा बाढी : नदी किनारका पाँच घर परिवार विस्थापित

हिमाली आवाज । पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा पानीको बहाब बढेपछि पोखरा–१४ को गोष्टी टोलको बस्ती जोखिममा परेको छ ।नदीमा पानीको सतह बढेर जोखिम बढेपछि नदी किनारमा बसोबास गर्ने पाँच परिवार विस्थापित बनेका छन् ।

केही दिनदेखी अविरल वर्षाका कारण सेतीमा पानीको बहाब बढेर बस्ती जोखिममा परेपछि सो टोलका पाँच घरपरिवारका २३ जनालाई आज दिउसो सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

गोष्टी टोल स्थित सेती नदीको किनारमा बसोबास विष्णुमाथा सुनुवारका पाँच जना, डोम्मा शेर्षका सात जना, सुकदेव गुरुङका चार जना, डावा शेर्पाका चार र काजी शेर्पाको घरका तीन जनालाई टोल विकास संस्थाको भवनमा सारिएको प्रहरीले जनाएको छ ।

प्रहरीको सहयोगमा सम्पूर्ण सामग्री सहित उनीहरुलाई संस्थाको भवनमा राखिएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।
यसैगरी अविरल वर्षाका कारण पहिरो जाँदा आज दिउसो पोखरा महानगरपालिका–३२ स्थित राजन विकको एक तलाको घरमा क्षति पुगेको छ । प्रहरीका अनुसार विकको घरको भान्छा कोठा पहिराले भत्किएको छ ।

केही दिनदेखीको भारी वर्षाका कारण पोखरा भित्रिने मुख्य राजमार्ग अवरुद्ध भएका छन् । पृथ्वीराजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा पोखरादेखी बाहिरिने र पोखरा भित्रिने सवारी साधन र यात्रुहरु समस्यामा परेका हुन्।

Comments
Loading...