कास्कीको पुरुनचौरमा पहिरोमा मृत्यु भएका पाँच जनाको सामूहिक दाहसंस्कार

हिमाली आवाज ।कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गएरातिको पहिरामा परेर मृत्यु भएका सात मध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।पुरुनचौरका कुलबहादुर परियारको घर गएरातिको पहिरामा पुरिदा उहाँको परिवारका छ सहित सात जनाको मृत्यु भएको थियो ।

मृतक मध्ये पाँच जनाको आज साँझ माछापुच्छ«े गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको स्थानीयवासी किशोर प्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा मृत्यु भएका कुलबहादुर सहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना र छिमेकी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो ।

मृतकहरुप्रति श्रद्धाञ्जलीका लागि पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जनप्रतिनिधिहरु तथा स्थानीयवासीहरु पुग्नुभएको थियो ।

सोही घटनामा मृत्यु भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने स्व कुलबहादुरका छोरी प्रभा र ज्वाइँ अस्मित परियारको दाहसंस्कार भने अस्मितका बुबा बैदेशिक रोजगारीमा रहेकाले उहाँ स्वदेश आएपछि मात्र गरिने परिवारजनले जनाएको छ । मृतक दुई जनाको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । कास्कीका तीन छ्टटाछुट्टै स्थानमा गएरातिको पहिरामा परेर ११ जनाको मृत्यु भएको थियो ।

Comments
Loading...