हिमाली आवाज । यातायात व्यवसायी तथा मजदुरहरुको आन्दोलनका क्रममा आज पोखरामा एक जना सञ्चारकर्मी माथि कुटपिट र अर्का एक जनालाई दुव्र्यवहार भएको छ ।पोखराको पृथ्वीचोकमा समाचार सङ्कलनमा खटिएका पत्रकार सुरज थापामाथि कुटपिट भएको हो । यसैगरी पत्रकार विनु थापामगरलाई दुव्र्यवहार गरिएको छ ।
नेपाल यातायात व्यवसायी महासङ्घ गण्डकी प्रदेशको आह्वानमा आज गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरी व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।गण्डकी प्रदेश सरकारले राईड सेयरिङलाई वैधानिकता दिने गरी कानुनी व्यवस्था गर्न लागेको विरोधमा छन् । सोही क्रममा आफ्ना सवारी साधन बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायी र मजदुरहरुले सञ्चारकर्मी माथि हातपात तथा दुव्र्यवहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले सञ्चारकर्मीमाथि हातपात गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पत्रकारमाथि कुटपिट भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति, पत्रकार महासङ्घ कास्की शाखा तथा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी पत्रकार सङ्गठन लगायतका पत्रकारसँग सम्बन्धित सङ्घ संस्थाले विज्ञप्ति निकालेर घटनाको निन्दा तथा दोषीमाथि कारवाहीको माग गरेका छन् ।
व्यवसायीको बन्दका कारण पोखरामा विहानदेखी सार्वजनिक यातायात सञ्चालन छैन । सार्वजनिक यातायातका साधन बस,ट्याक्सी, जीप लगायतका साधन नचल्दा सर्वसाधारण समस्यामा परेका छन् ।सार्वजनिक यातायात नचलेपनि नीजि सवारीका साधन भने सञ्चालन भएका थिए । आफ्नो सवारी साधन नहुनेहरु यातायात नचल्दा समस्यामा परेका हुन् । यातायात व्यवसायीको आन्दोलनका कारण लामो तथा छोटो दूरीका सवारी ठप्प छन् ।
यातायात व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलले व्यवसायीको सात बुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गरिएको बताउनुभयो । मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको मागपत्रमा सुनुवाई नभएको उहाँको भनाई छ ।
प्रदेश सरकारले नीजि सवारी साधन(रातो प्लेट)मा यात्रु बोक्न दिनेगरी राईड सेयरिङलाई वैधानिकता दिन लागेको आरोप व्यवसायीको छ ।
यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले नीजि सवारी साधनहरु रातो प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई यात्रु बोक्न दिनेगरी कार्यविधी बनाएको छ ।
यातायात व्यवसायीहरुले यातायात प्राविधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने लगायतका माग सरकारसँग राखेका छन् ।