पोखराका दीपेन्द्र र नवलपुरकी कमलालाई कञ्चन पत्रकरिता पुरस्कार

हिमाली आवाज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले जानकारी दिनुभयो । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ ।

फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले श्रेष्ठ र रानामगरको नाम सिफारिस गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीस मगर र महासचिव धनबहादुर गुरुङ हुनुहुन्थ्यो ।

पुरस्कृत हुने दीपेन्द्र पोखराको एभरेष्ट एफ.एममा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमात अध्यक्ष समेत हुनुहुन्छ । श्रेष्ठ पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशका सल्लाहकार हुनुहुन्छ ।

यस्तै रानामगर नवलपुरको मध्यविन्दु एफ.एममा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) की संघीय सदस्य तथा फोनिज गण्डकी प्रदेशकी संस्थापक उपाध्यक्ष पनि रहनुभएको छ ।

फोनिजको स्थापनाका दिवसका दिन साउन २७ गते पोखरामा सम्मान समारोह आयोजना गरी दुबै जनालाई पुरस्कार अर्पण गरिने फोनिजले जनाएको छ ।

पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उहाँका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।

Comments
Loading...