हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा साहसिक खेल अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल हुने भएको छ ।
पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप प्रवद्र्धन गर्ने उद्धेश्यले बेलुन नेपाल प्रालिले फेवातालको मुहानको तीन किमी क्षेत्रमा सो फेस्टिबल आयोजना गर्न लागेको हो ।
अङ्ग्रेजी नयाँवर्षका अवसरमा पारेर आगामी पुस १४ देखी १८ गतेसम्म सो फेस्टिबल हुने आज पोखरामा आयोजित कार्यक्रममा बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले जानकारी दिनुभयो ।उहाँका अनुसार फेस्टिबलका लागि रु छ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । फेष्टिभलले पोखराको पर्यटनमा उत्साह थप्दै शिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन सफल हुने बताइन्छ ।
“पर्यटनको राजधानी पोखरामा साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्नका लागि कार्यक्रम आयोजना गरेका हौँ ।” अध्यक्ष बाडेले भन्नुभयो । आयोजकका अनुसार फेष्टिभलमा विश्वका विभिन्न देशबाट करिब २० देखी २५ वटा बेलुन निर्यात गरी वेलुन फेस्टिभल गरिने छ ।
नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा पर्यटन परिषद लगायतका सङ्घ संस्थाको सहयोग र सहकार्यमा फेस्टिबल हुने अध्यक्ष बाडेले बताउनुभयो ।कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरामा यस प्रकारको मेगा इभेन्ट आयोजना हुनु खुशीको कुरा भएको बताउँदै सुरक्षालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले फेष्टिबल पोखरा र समग्र गण्डकी प्रदेशका लागि ऐतिहासिक कार्यक्रम हुने बताउनुभयो ।
पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नवीन पोखरेलले उक्त फेष्टिभलले थप पोखरामा थप पर्यटकको बसाई अवधि लम्वाउने विश्वास व्यक्त गर्दै यहाँका पर्यटनका सम्भाव्यताको खोजी गर्न कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।
वेलुन नेपालका सञ्चालक सविन महर्जनले पोखरामा यस्ता खेलको धेरै सम्भावना भएको कारण पोखरामा आयोजना गर्ने गरी तयारी गरेकोे बताउनुभयो ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक योगेन्द्र कुवंरले उक्त कार्यक्रमका अवधि हवाई उडानलाई सुरक्षित पार्न कटिबद्ध रहेको बताउनु भयो । लौरूकदेखि चंखपुरसम्म वेलुन उडानको मान्यता दिएको उहाँको भनाई थियो ।
पोखरा ६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले पर्यटन व्यावसाय खस्केको अबस्थामा यस कार्यक्रमले पर्यटन प्रबर्द्धन हुने बताउनु भयो । वेलुन नेपालका संचालक सविन महर्जनले पोखरामा यस्ता खेलको धेरै सम्भावना भएको कारण पोखरामा आयोजना गर्ने गरी तयारी गरेकोे बताउनु भयो । ईभेन्ट म्यानेजर प्रतीक्षा डंगोलले हर्ट एयर वेलुन पोखरामा धेरै सम्भावना रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले उक्त कार्यक्रमको व्यपक रुपमा प्रचार प्रसार गर्न सुझाव दिनु भयोे । कार्यक्रममा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पत्रकार सन्देश श्रेष्ठ लगायतले पोखरामा कुनै पनि ठुला मेला महोत्सव एकै मितिमा नपार्न सुझाव दिदै यस्ता कार्यक्रम पोखरा क्षेत्रको प्रबद्र्धनमा आवश्यक भएकोमा जोड दिनु भएको थियो ।हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालले पोखरामा ‘हट एयर बेलुन’ सञ्चालनमा ल्याइरहेको छ ।
बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाईमा पर्ने गरेको छ ।