हिमाली आावाज । पोखरा महानगरपालिकाले महानगरभित्र आर्थिक वर्ष २०८१÷८२ का लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ ।
महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।
मल वितरण व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले यूरिया, डीएपी र पोटासको मूल्य तोकेको गरेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा यूरिया प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ ।
यसैगरी डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको छ ।
मल विक्रेताले प्लाष्टिक झोलाको मुल्य प्रति किलो बढिमा दुई रुपैयाँ थप लिन सक्ने निर्णय गरेको छ ।
पोखरा महानगर कृषि शाखामा सूचीकृत भएका तथा बिक्री वितरण गर्नको लागि छनोट भएका २६ वटा वडाका ६५ केन्द्रबाट पोखरामा मल बिक्री वितरण भइरहेको छ ।
मल बिक्री वितरणका लागि गत आर्थिक वर्ष २०८०÷८१ मा मल बिक्रेताले बिक्री गरेको आधारमा कोटा निर्धारण गरिएको प्रमुख कडरियाले बताउनुभयो ।
सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र महानगरले तोकेकै मूल्यमा सहज रुपमा किसानलाई मल उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।
सहज र सुपथ मुल्यमा मल बिक्री गरे नगरेको अनुगमन गरिने पोखरा महानगरका उपप्रमुख गुुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो,“महानगरमा सूचीकृत विक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ । किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध हुनुपर्छ । अघिल्ला वर्षहरुमा पनि हामी नियमित अनुगमन गथ्यौ, यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौं ।”
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले किसानलाई खपत र आवश्यकताका आधारमा मल उपलब्ध गराउन महानगर तयार रहेको बताउर्दै अनुुदानको मल बढि मुुल्यमा विक्री गर्नेहरुलाई कारबाही गरिने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डिएपीको तुलनामा पोटासको खपत कम भएको बताउँदै उहाँले रासायनिक मलको अनुुपात अनुसार खेतबारीमा पोटासको प्रयोग गरेको नदेखिएको बताउनुभयो । उहाँले यसबारेमा किसानलाई सचेतना अभिबृद्धि गर्नुुपर्ने बताउनुभयो ।
्पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया एक हजार दुई सय २१ मेट्रिक टन, डीएपी छ सय ४५ मेट्रिक टन र पोटास ९८ दशमलब ९५ मेट्रिकटन गरी कूल एक हजार नौ सय ६५ दशमलब दुई मेट्रिकटन खपत भएको महानगरले जनाएको छ ।
Comments