मर्दी बेसक्याम्पमा मानव अवशेष फेला,बेपत्ता पर्यटकको हुनसक्ने अनुमान

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर(बेसक्याम्प)मा मानव अवशेष फेला परेको छ ।

माछापुच्छ«े गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय भेडीगोठ मालिक गोविन्द गौतमले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा आज जानकारी गराएको बताउनुभयो ।

“स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । भौगोलिक रुपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्ने बारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ ।” वडाध्यक्ष क्षेत्रीले भन्नुभयो । अवशेषसँगै एउटा आइफोन समेत भेटिएको उहाँले बताउनुभयो ।

भेटिएको सो अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुन सक्ने आशङ्का गरिएको छ ।

पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यस बेला खोजी गरिएपनि फेला पर्न सकेका थिएनन्।

Comments
Loading...