भुर्जुङखोलाको घोप्टे डाँडामा शिवजीको विशाल मूर्ति राखिदै,अर्थ जुटाउन धार्मिक महोत्सवको तयारी

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुङ्गस्थ्ति घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल सुरु भएको छ ।

स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिले घोप्टे डाँडामा विशाल शिवजीको मूर्ति स्थापना गरेर पर्यटन प्रवद्र्धनको योजना अघि बढाएको हो ।
माछापुच्छ«े हिमालको पृष्ठभूमि पारेर राखिने शिवजीको मूर्तिका कारण धार्मिक पर्यटन आकर्षित गरी समग्र सार्दिखोलाको समृद्धिलाई अघि सारिएको हो ।

घोप्टे डाँडामा विशाल शिवजीको मूर्ति स्थापना, ज्योतिलिङ्ग सहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्रका लागि आर्थिक स्रोत जुटाउन आगामी भदौ ६ गतेदेखी १४ गतेसम्म गैराखेल मैदानमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव आयोजना गर्न लागिएको हो ।

शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको धार्मिक महोत्वको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्े गाउँपालिका वडा नं २ वडा कार्यालय रहेको छ । माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्ष गणेश आचार्यले प्रचुर पर्यटकीय सम्भावना बोकेको घोप्टे डाँडालार्ई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्नका लागि ज्ञान महायज्ञ सहित धार्मिक महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“भगवान् शिवजीको बास रहेको धार्मिक मान्यता रहँदै आएको माछापुच्छ्े हिमाललाई पृष्ठभूमिमा राखेर निर्माण हुने विशाल मूर्तिले यस क्षेत्रको छुट्टै पहिचान स्थापित गर्ने विश्वास लिएका छौँ । समग्र सार्दिखोलाको समृद्धि र धार्मिक पर्यटन विकासका लागि वृहत् परिया्ेजना निर्माणको स्रोत जुटाउन धार्मिक महोत्सव हुन लागेको हो । पोखरा आउने स्वदेशी एवं विदेशी पर्यटकले नछुटाउने गन्तव्य बनाउने छौँ ।”

श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी अहिले काम अघि बढाइएको छ । महोत्सवलाई सफल पार्न सार्दिखोलाका सम्पूर्ण संघ संस्था,आमा समूह, शैक्षिक संस्था तथा जनसमुदाय एक भएर लागि परेको आयोजक शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले बताउनुभयो ।

महोत्सवका तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसअन्र्तगत प्रचारप्रसार उपसमिति संयोजकमा कृष्णप्रसाद गौतम, अर्थ संकलनमा टेकराज आचार्य,युवा तथा महिला परिचालनमा रामप्रसाद गुरुङ, सचिवालय संयोजकमा शेरमान भुजेल र गोविन्द आचार्य,मञ्च तथा भान्छा व्यवस्थापन संयोजकमा माधव आचार्य, अतिथि सत्कारमा पुण्यशोभा गुरुङ र मीरा आचार्य,भजन संयोजकमा रघुनाथ सन्यासी, सबै उपसमितिहरुलाई सहयोग तथा सल्लाहकार समिति संयोजकमा बमबहादुर गुरुङ, लोकनाथ आचार्य ,भाेजराज आचार्य र गिरिधारी आचार्य रहनुभएको छ।

Comments
Loading...