कास्कीमा छ सय ४९ नयाँ उद्योग थपिए,दुई हजार ५७ रोजगारी सिर्जना

हिमाली आवाज । कास्कीमा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् ।पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगहरु मध्येमा लुघ उद्योग १३ र साना छ सय ३६ वटा रहेका छन् । नयाँ उद्योगहरुमा रु एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पूँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालय कास्कीका प्रमुख महराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्र लगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगहरुमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ सेवामुलक उद्योग दुई सय ४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग एक सय ६२, पर्यटन उद्योग एक सय ६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीन वटा दर्ता भएका छन् ।

सो वर्षमा उर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगहरुमा महिला नौ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी कूल दुई हजार ५७ रोजगारी सिर्जना भएको छ ।

यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगहरुको सङ्ख्या समेत वर्षेनी वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् ।

“नयाँ उद्योग दर्ता सँगसँगै खारेज हुने उद्योगको सङ्ख्या समेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यता लगायतका कारणले समेत उद्योग खारेजीका लागि आउने गरेका छन् ।” कार्यालय प्रमुख ढकालले भन्नुभयो ।

कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपन्क्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ ।जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आर्थिक वर्षसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् ।

यसैगरी वाणिज्य फर्महरुको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आर्थिक वर्षमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी समेत हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ,चार सय ७० होटल,आठ जलयात्रा व्यवसाय र ३६ वटा होमस्टे सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ।

Comments
Loading...