हिमाली आवाज । विदेशमा उच्च शिक्षा अध्ययनका लागि उचित परामर्श गराउँदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज स्थापनाको २१ औँ वर्षमा प्रवेश गरेको छ । स्वदेश तथा विदेशमा समेत कार्यालय खोलेर परामर्श सेवा दिँदै आएको एक्सपर्टले आफ्नो २१ औँ वार्षिकोत्सवका सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज पोखरा शाखा कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्य गरी वार्षिकोत्सव उल्लासका साथ मनाइने जनाएको छ ।
एक्सपर्ट पोखरा शाखाका प्रवन्धक विष्णु प्रसाद गौतमले वार्षिकोत्सवका अवसरमा अभिभावकसँग अन्तरक्रिया, निवन्ध लेखन प्रतियोगिता, माछापुच्छ्रे गाउँपालिका वडा नं १ स्थित हिमाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण तथा फुटसल कार्यक्रम सम्पन्न गरिसकिएको जानकारी दिनुभयो । यसैगरी साउन २३ गते पोखराको पुम्दीभुम्दीस्थ्ति पुम्दीकोट महादेव मन्दिर परिसरमा सरसफाई तथा साउन २४ गते एक्सपर्ट डेका अवसरमा पोखराको चिप्लेढुँगमा खुला रक्तदान कार्यक्रम गरिने गौतमले जानकारी दिनुभयो ।

“एक्सपर्टले विभिन्न समयमा सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको छ । यसका साथै हाम्रो वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेर भव्य रुपमा मनाउन लागेका छौँ । एक हप्तामा हरेक दिन फरक फरक कार्यक्रम गर्नेछौँ ।” गौतमले भन्नुभयो ।
एक्सपर्ट पोखराका अपरेशन म्यानेजर रमेश बास्तोलाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले देश र समाजमा अप्ठ्यारो अवस्था पर्दा जहिलेपनि सहयोग गर्ने गरिएको बताउनुभयो ।
एक्सपर्ट पोखराका व्यवस्थापक सलि देवानले एक्सपर्टले मुख्य गरी अष्ट्रेलिया तथा युके, क्यानडा, न्यूजिल्याण्ड,अमेरिका लगायतका देशहरुमा अध्ययनका लागि परामर्श दिँदै आएको बताउनुभयो ।
अष्ट्रेलियाको सिड्नीमा सन् २००३ अगष्ट ८ मा एक्सपर्टको स्थापना भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले शैक्षिक परामर्शसंगै आइईएलटीएस, पीटीई, स्याट लगायतका कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई गन्तव्य मुलुकमा रहेका शाखाहरुबाटसमेत सहयोग गर्दै आइरहेको छ । एक्सपर्ट पोखरामा ३५ जना कर्मचारी कार्यरत रहेका छन् ।