हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुङ्गस्थ्ति घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले आजदेखी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव सुरु हुँदैछ ।
शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको धार्मिक महोत्सवको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्े गाउँपालिका वडा नं २ वडा कार्यालय रहेको छ ।
माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्ष गणेश आचार्यले धार्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव यही भदौ १४ गतेसम्म सञ्चालन हुनेछ ।

धार्मिक महोत्सव अघि विहान १० बजे कलश यात्रा सुरु हुनेछ । गैरा खेलमा मैदान बाट सुरु हुने कलश यात्रा कसेरी, सार्दिखोला स्वास्थ्य चौकी, घडेरी भुर्जुङखोला बसपार्क, पुरानो चोक (खादर्जुङ जाने बाटो )हुँदै शिल्दु देउराली बोर्डिङ स्कुल, माछापुच्छ्रे मावि हुँदै माझटोल , देउराली, बाँझोखेत र बाझोखेत पश्चात मोटर बाटो हुँदै कोलचोकबाट महायज्ञ स्थानमा आइ समापन हुने आयोजकले जनाएको छ ।
घोप्टे डाँडामा विशाल शिवजीको मूर्ति स्थापना, ज्योतिलिङ्ग सहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्रका लागि आर्थिक स्रोत जुटाउने उद्धेश्य महायज्ञको रहेको वडाध्यक्ष आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,“भगवान् शिवजीको बास रहेको धार्मिक मान्यता रहँदै आएको माछापुच्छ्े हिमाललाई पृष्ठभूमिमा राखेर निर्माण हुने विशाल मूर्तिले यस क्षेत्रको छुट्टै पहिचान स्थापित गर्ने विश्वास लिएका छौँ । समग्र सार्दिखोलाको समृद्धि र धार्मिक पर्यटन विकासका लागि वृहत् परिया्ेजना निर्माणको स्रोत जुटाउन धार्मिक महोत्सव हुन लागेको हो । पोखरा आउने स्वदेशी एवं विदेशी पर्यटकले नछुटाउने गन्तव्य बनाउने छौँ ।”
श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी अहिले काम अघि बढाइएको छ । महोत्सवलाई सफल पार्न सार्दिखोलाका सम्पूर्ण संघ संस्था,आमा समूह, शैक्षिक संस्था तथा जनसमुदाय एक भएर लागि परेको आयोजक शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले बताउनुभयो । महोत्सव भव्य रुपमा सम्पन्न हुने र चार करोड हाराहारीमा रकम संंकलन हुने उहाँले बताउनुभयो ।
महोत्सवका तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसअन्र्तगत प्रचारप्रसार उपसमिति संयोजकमा कृष्णप्रसाद गौतम, अर्थ संकलनमा टेकराज आचार्य,युवा तथा महिला परिचालनमा रामप्रसाद गुरुङ, सचिवालय संयोजकमा शेरमान भुजेल र गोविन्द आचार्य,मञ्च तथा भान्छा व्यवस्थापन संयोजकमा माधव आचार्य, अतिथि सत्कारमा पुण्यशोभा गुरुङ र मीरा आचार्य,भजन संयोजकमा रघुनाथ सन्यासी, सबै उपसमितिहरुलाई सहयोग तथा सल्लाहकार समिति संयोजकमा बमबहादुर गुरुङ, लोकनाथ आचार्य ,भोजराज आचार्य र गिरिधारी आचार्य रहनुभएको छ ।


