हिमाली आवाज । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोलाको थुनिएको छ।
बोक्से खोला कालीगण्डकी नदीको सहायक खोला हो। मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्से खोलामा पानीको बहाव घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताउनुभयो ।
“शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,” उहाँले भन्नुभयो,“हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ।”

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्से खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्से खोला किनारमा पर्दछ।
कोवाङमा रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा सशस्त्र प्रहरीको टोली पठाएको बताउनुभयो ।
“ड्रोनबाट हिम पहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि सतर्कता अपनाउनुपर्ने छ,” उहाँले भन्नुभयो,“बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सेखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ।”
खोलाको छेउछाउ चराउन लगिएका बस्तुभाउ र घाँस दाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन्।


