हिमाली आवाज । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट जमेको बीर्य(सिमेन)सङ्कलन भएर वितरण सुरु भएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपहार दिएका मुर्रा राँगा मध्ये सातवटा पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएको थियो ।
यहाँ रहेका मध्ये एक वटाबाट सिमेन सङ्कलन गरेर कृत्रिम गर्भाधानका लागि वितरण गरिएको कार्यालयका प्रमुख पशु विकास अधिकृत डा जगदिश पाण्डेले जानकारी दिनुभयो ।
बाँकी राँगाहरुबाट सिमने सङ्कलनका लागि सिकाइएको चरणमा रहेको अबको दुई देखी तीन महिनामा सबैबाट सङ्कलन हुने उहाँले बताउनुभयो ।
प्रमुख पशु विकास अधिकृत पाण्डेले भन्नुभयो,“क्वारेन्टिन, उमेर, सिकाई लगायत सबै प्रक्रिया पूरा गरेर मात्र सिमेन सङ्कलन र गुणस्तर परीक्षणपछि मात्र वितरणको काम हुन्छ । अहिले एउटाबाट सङ्कलन भएको तीन देखी पाँच हजार डोज वितरण गरेका छौँ । बाँकी राँगा ट्रेनिङमानै छन् ।”
कार्यालयका अनुसार वर्षमा एउटा मुर्रा राँगाबाट २० हजारदेखी ३० हजार डोज सिमेन उत्पादन हुनेछ । हप्तामा सोमबार र बिहीबार सिमेन सङ्कलन हुँदै आएको छ । एक हप्तामा एउटाबाट चार सय डोज जति सङ्कलन हुने कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमले बताउनुभयो ।

“हामीले यहाँ ल्याएर सुरुमा २१ दिन क्वारेन्टिमा राख्यौँ । कतिपयको उमेर पुग्न बाँकी थियो । उमेर पुगेपछि बल्ल सङ्कलन गछौँ ।” गौतमले भन्नुभयो,“सङ्कलन गर्ने वित्तिकै वितरण गर्ने हुँदैन, गुणस्तर परीक्षण गरेर ठीक छ भनेपछि मात्र कृत्रिम गर्भाधानकर्ता मार्फत भैँसीको नश्ल सुधार गरिन्छ । ”
कार्यालयले सङ्कलित सिमेन आफ्नो वितरण रुट मार्फत जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिका र कृत्रिम गर्भाधानकर्ता मार्फत कृषकलाई उपलव्ध गराउँदै आएको छ ।
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको कार्यक्षेत्र रहेका बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ३१ जिल्लामा कृत्रिम गर्भाधानका लागि कृषकहरुलाई वितरण गरिने वरिष्ठ पशु विकास अधिकृत गौतमले बताउनुभयो ।
कृषि तथा पशुपन्क्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपालको अनुरोधमा भारतले मुर्रा राँगा उपलव्ध गराएको थियो । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट १५ वटा राँगा ल्याइएको थियो ।
पशु चिकित्सकका अनुसार उच्च नश्लका मुर्रा भैंसीहरूले रैथाने भैंसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैंसीहरूमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो ।नेपाल ल्याइएका मुर्रा मध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीन वटा नेपालगञ्जमा राखिएको छ ।


