हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीको प्राथमिकता सरकारमा भन्दा पनि पार्टी सङ्गठन निर्माण जाने बताउनुभएको छ ।
पोखरामा यही भदौ ९ गतेदेखी सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापनमा उहाँले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
“हामी सरकारको जोड घटाउमा लाग्ने होइन,अरुले हामीलाई खोज्दै आउने स्थिति हुन सक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो ।” उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिलेपनि देशको महत्वपूर्ण शक्ति रहेको चर्चा गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलव्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“परिवर्तनका उपलव्धीहरुलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनः सङ्घर्षमा उत्रिएर भएपनि परिर्वतनलाई जोगाउनु पर्दछ ।”

अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको बताउनुभयो ।
उहाँले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिनुभयो । “अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टी भित्रको एकता हो ।” अध्यक्ष दाहालले भन्ुनभयो ।
सो बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल लगायतले भनाई राख्नुभएको थियो ।
बैठकमा बोल्ने पदाधिकारी तथा अन्य नेताहरुले जनयुद्ध, शान्ति प्रक्रिया,सदन र सरकारको लामो अनुभवले पनि अध्यक्ष प्रचण्डको विकल्प नभएको बताउनुभएको पार्टीको गण्डकी प्रदेशका सहइन्चार्ज हरिराज अधिकारीले बताउनुभयो ।
माओवादी केन्द्रको गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीका लागि केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बीचमा छलफलका लागि परामर्श बैठक आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।


