हिमाली आवाज । म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गा बाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा दुई स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्क विहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताउनुभयो ।
भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई वटा झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।
“पुरानो बाटो बाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ ।” गुरुङले भन्नुभयो ।

एक्याप विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले आइतबार विहान १० बजेर २१ मिनेटमा पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी निदुभयो । उहाँले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताउनुभयो ।
“पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ , त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासी सहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिक९लौरी० भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।” उहाँले भन्नुभयो ।
मंगलाबार गोताखोर सहितको टोलीले खोलामा खोजी गरिने जानकारी दिनुभयो । पर्यटक हराएको जानकारी दुतावासलाई गराइसकिएको गुरुङले बताउनुभयो ।