हिमाली आवाज । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजका अवसरमा पोखराको लामाचौरमा तीज महोत्सव तथा राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ को प्रमुख आकर्षणका रुपमा लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता रहेको छ ।
सोे संस्थाको २८ औं वार्षिक समारोह एवं तीज महोत्सव आगामी भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा हुने आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागतसिँह भण्डारीले जानकारी दिनुभयो ।
संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । राष्ट्रिय पुरुष तथा महिला भलिबलमा दुवैतर्फ नेपालका तीन विभागीय टिम सहित पाँच÷पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।
महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिने छन् ।
यसैगरी पुरुषतर्फ विभागीय सशस्त्र प्रहरीको एफिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुने अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फ विजेताले समान रु एक लाख ५० हजार एक सय ११, उपविजेतालाई रु एक लाख एक सय ११, तेस्रोलाई रु ५० हजार एक सय ११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कारको व्यवस्था गरिएको बताइन्छ । भलिबले भदौ १८ गतदेखीनै सञ्चालन हुने संयोजक भण्डारीले बताउनुभयो ।
यसैगरी अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्का आकर्षण रहेको छ ।
तीज गीतमा प्रथमलाई रु ५० हजार एक सय ११, द्धितीयलाई रु ३० हजार एक सय ११, तृतीयलाई रु २० हजार एक सय ११ र सान्त्वनालाई रु १० हजार एक सय ११ साथै सहभागी टिमलाई प्रोत्साहनवापत रु दुई हजार प्रदान गरिने आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ ।
यसैगरी अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु ४०, रु २५, रु १५ र रु पाँच हजार तथा उत्कृष्ट भेषभूषालाई रु पाँच हजार पुरस्कार प्रदान गरिने बताइन्छ ।
महोत्सव सम्पन्न गर्न रु ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताउनुभयो ।संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शववाहन संचालन गर्दै आएको छ ।
कार्यक्रममा पोखरा– १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताउनुभयो ।