हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिक मध्य आज एक जनाको शव फेला परेको छ ।
अन्नपूर्णको उल्लेरी हुँदै घोरेपानी जाने क्रममा पर्यटकद्धय ३७ वर्षीय इरिक कासानोभास र ३२ वर्षीया मोलास जुन्का मेसी बेपत्ता भएका थिए ।
खोजीका क्रममा इरिकको शव उनीहरुको झोला भेटिएको स्थान मौजाखोला भन्दा अन्दाजी एक किमी तल भुरुङदी खोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो । महिलाको भने अझै अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरीको खोताखोर सहितको टोली, प्रहरी, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा स्थानीयवासीले विहानदेखीनै खोजी गरेका थिए ।
गत भदौ ९ गते विहान अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)को विरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेका थिए ।

सोही दिन साँझ बाटोमा दुई वटा झोला वेवारिस अवस्थामा भेटिएपछि पर्यटक हराएको आशङ्कामा खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार फेला परेका झोला विरेठाँटी प्रहरी चौकीमा ल्याएर खोलेर हेर्दा पर्यटकको भएको पुष्टि भएको थियो ।
पदयात्रामार्गमा पर्ने भुरुङदी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक खोलामा खसेको अनुमानका आधारमा सोमबार झरनाको आसपास र नदी किनारमा खोजी गरेपनि फेला पर्न सकेको थिएन । खोजीका क्रममा झरना नजिक आल्मुनियमका दुई वटा स्टिक(लौरी) भेटिभएको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बेपत्ता महिलाको खोजीलाई बुधबार पनि निरन्तरता दिइने बताउनुभयो । पर्यटकको हराएको सूचना सम्बन्धित देशको राजदुतावासमा जानकारी गराइएको उहाँले बताउनुभयो ।


