हिमाली आवाज । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाइने भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस र एमालेबीच भागबण्डा मिलाउन हालको मन्त्रालय संख्या सात बाट बढाएर नौ बनाउन लागिएको हो ।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएर सोही अनुसार प्रदेश सरकारहरु पुनःगठन गरिएपनि गण्डकीमा दुई दलबीच भाबण्डा मिलेको थिएन । अब गण्डकीमा नेकपा एमालेलाई ४ र नेपाली काँग्रेसको भागमा ५ मन्त्रालय बाँडफाँड हुने सहमति अनुसार ९ वटा मन्त्रालय बनाउने निर्णय भएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राउने निर्णय भएको मुख्यमन्त्रीले बताउनुभयो ।

मन्त्रालय बढाउँदा मन्त्रालयमा मन्त्रीबाहेक अन्य संरचना भएकोले प्रदेशको खासै धेरै आर्थिक व्ययभार नहुने उहाँले बताउनुभयो । वन वातावरण तथा उद्योग पर्यटन एउटा भए ता पनि उद्योग पर्यटनको सङ्गठन छुट्टै वन वातावरणको संरचना छुट्टै कार्यालय र सचिवहरू नै छुट्टै रहेको उहाँले उल्लेख गर्नुभयो । त्यसै गरी सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयमा पनि मन्त्री एक जना हुनुहुन्थ्यो तर मन्त्रालय र सचिव छुट्टै भएकोले सामाजिक विकास र स्वास्थ्यसम्बन्धी छुट्टै मन्त्रालय बनाइने भएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
अन्य प्रदेश भन्दा गण्डकी प्रदेशमा फरक भएकोले एमालेको सहमतिमा नयाँ सरकार बनाउन केही समय ढिलाइ भएको उहाँले जनाउनुभयो । हाल कायम मन्त्रीहरूलाई भने नहटाउने उहाँले बताउनुभयो ।