हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीको हाताभित्र ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रको आजदेखी सञ्चालनमा ल्याइएको छ ।
प्रशासनमा सेवा लिन आउने ज्येष्ठ नागरिकहरुहरुलाई सहजताका लागि विश्राम कक्षमानै पुगेर सेवा प्रदान गर्ने गरी कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
प्रशासनमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिनका लागि दैनिक रुपमा ५० देखी ६० जना ज्येष्ठ नागरिकहरु आउने जनाइएको छ ।
प्रशासनले ज्येष्ठ नागरिकलाई लामो समय लाइनमा बस्नु नपर्ने गरी सेवा दिनका लागि ‘डेडिकेटेड लाइन’को व्यवस्था गरिने प्रजिअ पाण्डेले बताउनुभयो ।
स्वास्थ्य सहायता केन्द्रमा स्वास्थ्यकर्मीबाट ब्लडप्रेसर जाँच ,तापक्रम जाँच, बेडको सुविधा तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गरिनेछ । उहाँका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ ।

“हामी ज्येष्ठ नागरिकहरुलाई विश्राम कक्ष सहित डेडिकेटेड लाइनबाट द्रुत सेवा दिनेछौँ । उहाँहरुको सामान्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौँ । ज्येष्ठ नारिकले लाइनमा नबसिकननै सेवा पाउनुहुनेछ । ” पाण्डेले भन्नुभयो ।
जिल्लास्थित आम नागरिक तथा ज्येष्ठ नागरिकहरुको प्रत्यक्ष सरोकार रहने कार्यालयहरुमा समेत ज्येष्ठ नागरिक विश्राम कक्षको स्थापना गर्ने कार्यको अनुसरण हुने विश्वास प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकमैत्री कार्यको प्रशंसा गर्दै सञ्चालित कार्यको निरन्तरताको अपेक्षा गर्नुभयो ।
उहाँले भन्नुभयो,“ज्येष्ठ नागरिकहरु तथा आम नागरिकहरुको प्रत्यक्ष सरोकार रहने कार्यालयहरुमा विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा आउनु सकारात्मक रहेको छ । यसको अन्य कार्यालयहरुले समेत अनुसरण गर्नुपर्दछ । ”
नागरिकलाई विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्र सहितको व्यवस्थाले सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ ।


