पोखराको ढुँगेसाँघुमा कोटी होमको तयारी

हिमाली आवाज । पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटी होम गरिने भएको छ । आगामी मंसिर महिनामा पोखरा १५ ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो ।

सोमबार कोटी होम बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले तीन दशकपछि पोखरामा कोटी होम हुन लागेको बताउनुभयो ।

पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमि हुँदै जाँदा पोखरा १५ गण्डकी रिभर साइड युवा क्लब भने धार्मिक कार्यमा जुटिरहेको उहाँले बताउनुभयो । कोटी होम भनेको के हो ? कसरी गरिन्छ र यसस्को महत्व के हो भन्ने बारेमा समेत जानकारी दिनेगरि आफुहरुले कोटी होमको आयोजना गर्न लागेको गिरीले बताउनुभयो ।

कोटी होम शास्त्रअनुसार नै हुने र त्यसका लागि दान गर्न सक्नेले गर्ने नसक्नेले निशुल्क रुपमा सहभागि हुन सक्ने बताइन्छ । ‘हामीले कोटी होमका लागि रकम दिनपर्छ भनेर भन्दैनौं न त दबाबनै दिन्छौ । यदि दिनसक्ने हुनुहुन्छ भने दिन सक्नुहुन्छ सक्नु हुन्न भने पनि आएर पुण्य कार्यमा सहभागि हुन सक्नुहुन्छ’ उहाँले भन्नुभयो,‘ढुंगे साघु लुकेको तिर्थस्थल हो । यहाँ धार्मिक महत्व बोकेको ठाउँ छन् तिनीहरुको पहिचान गराउनु हाम्रो उदेश्य हो ।’
उहाँका अनुसार त्यहाँ विभिन्न पूजाअराधाना पनि हुन्छ । यस्तै कोटी होमकै क्रममा निशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका वृद्ध–वृद्धाका लागि पूजा समेत लगाउने व्यवस्था गरिने छ ।

रिभर साइड युवा क्लबका अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहासलाई जिवन्त पार्न कोटी होमको आयोजना गर्न लागेको बताउनुभयो । सुरुवातमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माणको कार्य भइरहेको र प्राण प्रतिष्ठासँगै कोटी होमको आयोजन ागर्न लागेको जानकारी दिनुभयो ।

ढुंगेसाँघु धार्मिक क्षेत्र भएपनि प्रचार प्रसारको अभावले निकै पछि पर्दै गइरहेको र यसलाई जिवन्त पार्ने कोसिसको थलानी गरेको बताइन्छ ।

Comments
Loading...