पोखरामा प्याराग्लाइडिङको सोलो उडान खुलाउन व्यवसायीको माग

हिमाली आवाज । पोखराका पर्यटन व्यवसायीहरुले दुई वर्षदेखी बन्द रहेको यहाँ सञ्चालित प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन माग गरेका छन् ।

पोखराको साहसिक पर्यटकीय प्रडक्टमा रुपमा रहेको प्याराग्लाइडिङ अन्तर्गत सोलो उडान बन्द हुँदा विभिन्न देशबाट आउने पर्यटकहरु समेत निरास भएकाले यसको असर पर्यटन क्षेत्रमा परेको भनाई प्याराग्लाइडिङ व्यवसायीको रहेको छ । प्याराग्लाइडिङको सोलो उडान प्रतिवन्द भएपनि टेण्डम(व्यवसायिक) उडान भने भइरहेको छ ।

नेपाल हवाई खेलकुद संस्था(ना)को २१ औँ वार्षिक साधारणसभा तथा अधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा बोल्ने पर्यटन व्यवसायीहरुले उडान बन्द हुँदा नेपाली प्राविधिक खेलाडीहरुको सीप क्षमता विकासमा समेत असर पुगेको बताए ।

पोखरामा विसं २०७९ असोज अन्तिममा नवौँ राष्ट्रिय खेलकुदको दौरान ग्लाइडर दुर्घटनामा एक जना खेलाडीको मृत्यु भएपछि नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणले अनिश्चितकालका लागि भनेर सोलो उडानमा प्रतिबन्ध लगाएको थियो ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले विभिन्न देशबाट सोलो उडानका पारखीहरु हरेक वर्ष पोखरा आउने गरेपनि अहिले आउन नपाएको बताउनुभयो ।

उहाँका अनुसार नेपाली पाइलटहरुले समेत प्याराग्लाइडिङको अभ्यास गर्न पाएका छैनन् । अध्यक्ष भट्टराईले उडान खुला गर्नका लागि नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर माग गरेपनि पूरा नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“पोखराको अति सुन्दर प्राकृतिक मनोरमलाई आकासमा चुम्न स्वदेशी साथै विदेशबाट समेत ठूलो सङ्ख्यामा साहसिक पर्यटकहरु आउने गर्नुहुन्छ । सोलो उडानकै लागि भनेर आएका विदेशी पाइलट अहिले उड्न नपाएको अवस्था छ । पोखरा पर्यटनको राजधानी समेत घोषणा भइसकेको अवस्थामा सोलो उडान खुला गरेर पर्यटकीय गतिविधिहरु वृद्धि गर्नुपर्दछ भनेर माग गरिराखेका छौँ ।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बन्द भएको प्याराग्लाइडिङको एकल उडान खुलाउनुको विकल्प नभएको बताउनुभयो । “पोखरा पर्यटन राजधानी घोषित भएको छ । त्यसैले पनि यहाँ आउने पर्यटकहरुलाई धेरै भन्दा धेरै सुविधा र पर्यटकीय गतिविधिहरुमा सहभागी गराउनुपर्दछ । सोलो उडानबाट पर्यटन विकासमा मद्धत पुग्नेछ ।” पहारीले भन्नुभयो ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायीको माग पूरा गर्न सरकारले पहल गर्ने बताउनुभयो । उडान खुला गर्नका लागि नागरिक उड्डयन प्राधिकरणसँग समेत छलफल गरिने उहाँले विश्वास दिलाउनुभयो ।

“पोखराको पर्यटनका लागि प्याराग्लाइडिङको धेरै महत्व छ । यसलाई थप व्यवस्थित बनाउँदै सोलो उडान खुला गर्ने बारेमा सरकारले ध्यान दिनेछ ।”मन्त्री थापाले भन्नुभयो ।

पोखरामा विगतमा सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान हुँदै आएकामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि सो क्षेत्रबाट विस्थापित भएर मान्द्रेढुँगाबाट उडान र पामेमा अवतरण क्षेत्र तोकिएको थियो ।

मान्द्रेढुँगा टाढा भएको र पर्यटकको आकर्षण घटेपनि व्यवसायीको माग अनुसार पुनः केही समयपछि तोरीपानीबाट उडान हुँदै आएको छ । साधारणसभाका अवसरमा पत्रकारद्धय अमृत सुवेदी र प्रशुराम शर्मालाई सम्मान गरिएको थियो।

नेपाल हवाई खेलकुद संस्थामा हाल ६२ वटा प्याराग्लाइडिङ व्यवसायिक कम्पनी र पाइलट तीन सय ९९ जना आवद्ध रहेका छन् ।

Comments
Loading...