अनेमसंघ(क्रान्तिकारी) गण्डकीमा शाही निर्वाचित

हिमाली आवाज । नेपाल महिला संघ(क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही(तनहुँ) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
पोखरामा बिहीबार राति अवेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो ।

सङ्घको उपाध्यक्षहरुमा लिला विक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित हुनुभयो । सचिवमा निर्मला सुवेदी ‘क्रान्ती’ (कास्की) र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित हुनुभयो । यसैगरी सह–सचिवमा हेमकुमारी सुनार ‘ज्योती’ (नवलपुर) निर्वाचित यचन भएकामा बाँकी दुई सहसचिव पछि चयन गर्ने बताइन्छ ।

यसअघि सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले संविधानमा व्यवस्था गरिएका महिलाका अधिकारहरु रक्षा गर्नका लागि सम्पूर्ण महिलाहरु सचेत र सजग रहनुपर्ने बताउनुभएको थियो ।

उहाँले लामो सङ्घर्षपछि प्राप्त अधिकार र उपलव्धी माथि षड्यन्त्र हुन सक्ने भएकाले परिस्थितिसँग जुध्न तयार रहन अपिल गर्नुभयो ।
“अहिलेको संविधान माओवादी जनयुद्धले लेखिएको हो, यसमा धेरै अधिकारहरु स्थापित छन् । संविधान संशोधनको बहानामा पुरानै संविधानतिर फर्काउने षड्यन्त्र समेत हुन सक्दछ । त्यसैले संविधानको रक्षाका लागि सबै एकजुट हुनु आवश्यक छ ।” उपाध्यक्ष भुसालले भन्नुभयो ।
पार्टीलाई आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरिकन एक्लै चुनाव लड्न सक्ने वलियो शक्ति बनाउने गरी पार्टी निर्माण गरिने उहाँले बताउनुभयो ।
पार्टी स्थायी समिति बैठकपछि सबै प्रदेशहरुमा पार्टीका वैठकहरु सम्पन्न भएको र आगामी केन्द्रीय समिति बैठकका लागि महत्वपूर्ण सुझावहरु नेता कार्यकर्ताबाट प्राप्त भएको उपाध्यक्ष भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पहिलो संविधानसभा निर्वाचनमा हामीले एकल बहुमत नजिक पुगेका थियौँ । त्यसपछि हाम्रो जनमत कम हुँदै गएको छ । हामी सत्तामा बढी केन्द्रित भयौँ, अब जनतामा जाने र बलियो पार्टी बनाउने गरी कार्यक्रम बनाउँर्द छौँ ।”

उपाध्यक्ष भुसालले राजनीतिक मान्यतामा पहिलो र दोस्रो ठूलो दलको सरकार बन्न नसक्ने भएपनि अघिल्लो सरकारले सुरुआत गरेका सुशासनलाई रोक्नका लागि हतार हतार नयाँ सरकार बनेको टिप्पणी गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र)का सचिव दीननाथ शर्माले जनयुद्धमा नेपाली महिलाहरुले गरेको ठूलो त्याग र बलिदानका कारण संविधानमा धेरै हक अधिकार स्थापित भएको बताउनुभयो ।

अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापामगरले जनयुद्धमा जस्तै अबको समाजवादी क्रान्तिमा समेत महिला शक्ति अग्रणी मोर्चामा उभिनुको विकल्प नभएको बताउनुभयो ।

सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी चार सय ५० जना प्रतिनिधिहरुको सहभागीता थियो । सम्मेलनका अवसरमा महिला सङ्घका संस्थापकहरु, जनयुद्धका जेल ब्रेकर महिला तथा घाइते योद्धाहरुलाई सम्मान गरिएको थियो ।

Comments
Loading...