‘शुन्य होम डेलिभरी’ अभियानमा माछापुच्छ्रे गाउँपालिका

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा १३ जना महिला घरमै सुत्केरी भए ।
यसैगरी अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या घटेर चार जनामा आइपुगेको छ । गाउँपालिकाले सुरक्षित प्रसुतीका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहित गर्दै पालिकालाई ‘शुन्य होम डेलिभरी’ घोषणालाई अघि बढाएको छ ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले गर्भवतीको स्वास्थ्यमा हुन सक्ने जोखिमलाई न्यून गर्न घरमै हुने सुत्केरीलाई शुन्यमा झार्ने गरी नौ वटै वडामा गर्भवतीका लागि अभिमुखीकरण तथा सचेतना कार्यक्रम सुरुआत गरिएको जानकारी दिनुभयो ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरीको आकर्षण बढाउनका लागि ‘सुत्केरी चूल्हो’ लगायतका विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहेको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पालिकालाई शुन्य होम डेलिभरी पालिका घोषणाका लागि तयारी सुरु गरिसकेका छौँ । सवै वडाहरुमा गर्भवतीको सङ्ख्या दर्ता गरेर उपाध्यक्षसँग गर्भवती सुरक्षा लगायतका बारेमा जानकारी दिइरहेका छौँ । सुत्केरीका लागि अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्दछ भन्ने सन्देश प्रवाह गरेका छौँ ।”

गर्भवती सुरक्षा, पोषण, आमा र शिशुको स्वास्थ्य तथा गर्भावस्थामा देखा पर्ने खतराका चिन्ह,यस्को व्यवस्थापन, सुत्केरी पोषण, सुत्केरी चुलो, सुत्केरीलाई यातायात सुविधा, पालिकामा सञ्चालित बर्थिङ सेन्टर आदिका बारेमा सवै वडाका गर्भवती महिलालाई जानकारी गराउनका लागि अभिमुखीकरण सुरु गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।

यसैगरी गाउँपालिकाले दुई वर्षदेखी ‘सुत्केरी चूल्हो’ कार्यक्रम सञ्चालन गरेको छ । सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जानलाई प्रेरित गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम दाहालले बताउनुभयो ।

“सुत्केरी चूल्हो कार्यक्रमले समेत स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुको सङ्ख्या बढ्दै गएको छ । हामीले घरमै हुने सुत्केरीलाई यसैवर्षमा शुन्यमा झार्ने योजनामा छौँ, सोही अनुसार कार्यक्रम सञ्चालन गरेका छौँ । ” स्वास्थ्य शाखा प्रमुख दाहालले भन्नुभयो ।

‘सुत्केरी चूल्हो’ कार्यक्रममा महिलाहरूले प्रसूतिका बेला खाना, आवास, स्वास्थ्य स्याहारलगायत सुविधा पाउने गर्छन् । सुत्केरी र एक जना कुरुवाका लागि खानेकुरादेखि पकाउने भान्छा, भाँडाकुँडा र सुत्ने प्रबन्ध समेत गाउँपालिकाले मिलाएको छ ।

स्वास्थ्य शाखा प्रमुख दाहालले गाउँपालिकाले प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा आउजाउ गर्दा लाग्ने यातायात खर्चसमेत दिने गरेको छ । गाउँपालिकाका प्रसूति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्रका अस्पतालमा पठाउनुपरेमा थप यातायात खर्चसमेत दिने गरिएको दाहालले बताउनुभयो ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुका लागि रु दुई हजार उपलव्ध गराउँदै आएको छ । यस बाहेक गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउनेहरुलाई यातायात खर्च सुगमका लागि रु एक हजार र दुर्गमका लागि रु दुई हजार पाँच सय तथा पोषण खर्च रु एक हजार प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो ।

Comments
Loading...