हिमाली आवाज । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
अंकित मूल्यभन्दा झण्डै तेब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो।
जिम्बु थकालीले ३५ रुपैयाँ मूल्य रहेको मिनिरल वाटरलाई १०० रुपैयाँसम्म लिएको गुनासो आएपछि अनुगमन गरी जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले जिम्बु थकालीमा छड्के अनुगमन गरेको थियो । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताउनुभयो । उहाँले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्यभन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाहीस्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताउनुभयो ।
रेष्टुरेण्टले अब पनि अंकित मूल्यभन्दा बढीमा पानी लगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट नै शिलबन्दी गर्ने उहाँले बताउनुभयो ।