कास्कीका निर्माण व्यवसायीलाई निर्माण व्यवस्थापन प्रशिक्षण

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र निर्माण व्यवसायी संघ कास्कीको व्यवस्थापनमा पोखरामा निर्माण व्यवस्थापन सम्बन्धी दुई दिनको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

यही असोज ७ र ८ गते सम्पन्न भएको प्रशिक्षणमा एक सय ६० जना निर्माण व्यवसायीहरुको सहभागिता रहेको नेपाल निर्माण व्यवसायी संघ कास्कीका सचिव डम्बरराज ढकालले जानकारी दिनुभयो । कन्सट्रक्शन बिजनेश डेभलपमेन्ट इम्पलीमेन्टशन कमिटीको सहयोगमा तालिम सञ्चालन भएको सचिव ढकालले बताउनुभयो ।

प्रशिक्षणमा नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष आङ्गदोर्जि लामा शेर्पा, महासंघका उपाध्यक्ष खिमप्रकाश मल्ल र महासचिव रोशन दाहाल लगाएतले निर्माण व्यवसाहीरुको कार्यदक्षता अभिवृद्धि गर्न तथा निर्माण कार्यलाई व्यवस्थित र सरल ढंगले सम्पन्न गर्ने हेतुले तालिम आयोजना गरिएको बताउनुभएको थियो ।

निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहयोगमा भएको प्रशिक्षण कार्यक्रममा ई. केशवराज आचार्यले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक आचार्यले निर्माण सम्बन्धी समस्या, वर्तमान चुनौतीका साथै विविध पक्ष बारे जानकारी दिनुको साथै कर सम्बन्धि जानकारी दिनुभयो ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरूङले निर्माण व्यवसायीको नेतृत्व क्षमता विकास र व्यवसायलाई थप व्यवस्थित बनाउने सहयोग गर्ने उद्धेश्यले सो तालिम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ गण्डकी गण्डकी प्रदेशका अध्यक्ष टंकराज बराल, महासंघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ,संघका कास्की उपाध्यक्ष ई. शिरस बास्तोला लगायतले भनाई राख्नुभएको थियो।

Comments
Loading...