विश्व पर्यटन दिवस:पोखरामा मिनी सडक महोत्सव

हिमाली आवाज । नेपालको पर्यटकीय राजधानी पोखरामा विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सवको तयारी गरिएको छ ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसका दिन यही असोज ११ गते(सेप्टेम्वर २७ ) साँझ फेवाताल किनार अम्बोटदेखी वाराहीचोकसम्म एक दिन सडक महोत्सव गर्न लागेको हो ।

महोत्सवमा बाजा गाजा सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरिने मिनी सडक महोत्सवका संयोजक समेत रहनुभएका रेवानका महासचिव वीरेन्द्र शेरचनले बताउनुभयो ।

सडकमै खाउँ, सडकमै रमाउँ भन्ने उद्धेश्यका साथ आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्राउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।

“पर्यटनको ठूलो सम्भावना भएको आफैमा सुन्दर शहरमा पर्यटन दिवस कसरी मनाउन गइरहेका छौँ भन्ने विषयले धेरै महत्व राख्दछ । यसैलाई मध्यनजर गरेर सडकमा महोत्सव आयोजना गरेर पर्यटकहरुलाई स्वागत गर्न गइरहेका छौँ ।” संयोजक शेरचनले भन्नुभयो ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ यहाँको विभिन्न जातिय संस्कृति, भेषभुषा, साँस्कृतिक नृत्य, पर्यटकीय ठाउँहरुको दृश्यावलोकन वृत्तचित्र तथा स्वदेशी र विदेशी खानाका परिकार प्रस्तुत गरिने रेवानका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पर्यटकलाई स्वागत गर्दै पर्यटन प्रवद्र्धनका लागि सडकमा स्वदेशी तथा विदेशी खानाका परिकार र सांस्कृतिक कार्यक्रम हुनेछन्।”

मुख्य पर्यटकीय मौसम सुरु हुन लागेका समयमा आयोजना गरिएको सडक महोत्सवले यहाँका पर्यटन व्यवसायी उत्साहपूर्वक पर्यटकलाई स्वागत गर्न आतुर रहेको सन्देश समेत प्रवाह हुने आयोजकले जनाएको छ ।

यसैगरी विश्व पर्यटन दिवसका सन्दर्भमा पोखराका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाहरुले विभिन्न कार्यक्रम आयोजनाको तयारी गरेका छन् ।

Comments
Loading...