हिमाली आवाज । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि गोरखाको सुलिकोट गाउँपालिकाका निरोज भट्ट क्षेत्रीले जित्नुभएको छ ।पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क लगायतका पर्यटनका प्रचुर सम्भावना रहेका गन्तव्यको थप प्रवद्र्धनका लागि पोखरा क्लिक प्रालिले दौड आयोजना गरेको हो ।
खुला पुरुषतर्फ उपाधि विजेता भट्टले निर्धारित आठ किमी दौड ३८ मिनेट २३ सेकेण्डमा पूरा गर्नुभयो । उहाँले उपाधि सहित नगद रु २५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।
यसैगरी सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दूरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी द्धितीय हुनुभयो । उहाँले रु १५ हजार पुरस्कार पाउनुभयो । पोखरा–१७ का प्रकाश थिँकले तोकिएको दूरी ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तृतीय हुनुभयो र रु सात हजार पुरस्कार पाउनुभयो ।
यसैगरी महिलातर्फ निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरी काभ्रेको चौताराका नितु तामाङले उपाधि जित्नुभयो । उहाँले रु सात हजार पुरस्कार पाउनुभयो ।

यसैगरी १६ वर्षमूनिको दौडमा पोखरा–१२ का सागर देवकोटा पहिलो हुँदै रु सात हजार र मेडल पुरस्कार पाउनुभयो । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियारले ५३ मिनेट छ सेकेण्डमा दौड पूरा गरी रु सात हजार सहित उपाधि जित्नुभयो ।
पोखराको विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर दौड समापन गरिएको थियो ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, प्रतियोगिता संयोजक दीननाथ बराल लगायतले पुरस्कार वितरण गर्नुभएको थियोे ।यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गर्नुंभएको थियो ।
सो अवसरमा पर्यंटन उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरिएको थियो ।
पर्यटनको अथाह सम्भावना रहेको र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको पुम्दीभुम्दीको दौड मार्फत थप प्रवद्र्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताउनुभयो ।