पोखराको बैदाममा आँगनमा लत्रिएको इन्टरनेटको तार पन्छाउँदा पौडेलको ज्यान गयो

हिमाली आवाज । पोखरामा घरको आँगनमा लत्रिएको इन्टरनेटको केवल तार हटाउँदै एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर–६ गौरीघाट मार्गका खेमबहादुर पौडेल (मंगल) तार हटाउने क्रममा गत असोज १ गते करेन्ट लागेर घाइते भएकामा उहाँको यही असोज ९ गते मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएका छन् ।

पीडित परिवारले दोषीमाथि कारवाही गर्न माग गर्दै प्रहरीमा शुरुमा ठाडो निवेदन र त्यसपछि ईन्टरनेट सेवा प्रदायक कम्पनी र नेपाल विद्युत प्राधिकरणबिरुद्ध किटानी जाहेरीपनि दर्ता गराएपनि थप कारवाही प्रक्रिया अगाडि नबढाएको परिवारका सदस्य भरतबहादुर पौडेलले बताउनुभयो ।

“ घटना लगत्तै हामीले जाहेरी दिएका छौँ तर प्रहरीले अहिलेसम्म अनुसन्धान अगाडि नबढाएपछि आज पत्रकार सम्मेलन गरेका हौँ । ईन्टरनेटको तारमै हाईभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेको हो वा विद्युतको तारले कहिं छोएर त्यस्तो भएको हो भन्नेबारेमा अनुसन्धान दोशीलाई कारवाही र उचित क्षतिपूर्ति पाउनुपर्ने हामीहरुको माग छ ।” पौडेलले भन्नुभयो ।

रेवान पोखराका पूर्व अध्यक्ष स्थानीय भीमसेन भुजेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल, महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल, नागरिक समाजका पूर्वअध्यक्ष विष्णुहरि अधिकारी लगायतले दोषिमाथि कारवाही र पीडितलाई क्षेतिपुर्ती दिनुपर्ने बताउनुभएको छ ।

यसैबीच पोखराका दुई दर्जन संघसंस्थाहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै दोषि ईन्टरनेट केवल कम्पनीलाई कारवाही र पीडितलाई क्षेतिपुर्ती दिन माग गरेका छन् । नागरिक समाज कास्की, वातावरण संरक्षणका लागि महाअभियान कास्कीसहित पर्यटन सम्बद्ध पोखरा पर्यटन परिषद, होटल संघ पोखरा, नाट्टा गण्डकी, टान, रेवान, एगा, टेसा, डुंगा व्यवसायी समिति, नेपाल हवाई खेलकुद संस्था, भिटोफ पोखरा, ओटेफ, टेवान, नीजि क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघ, एनएमए पोखरा, नारा पोखरा, पोखरेली ट्याक्सी व्यवसायी समिति, महिला सञ्जाल बैदाम, धादिङ त्रिपूरा वाराही महिला समूह, नमूना आमा समूह, अन्नपूर्ण आमा समूह र जरेबर उज्वल दिदीबहिनी समूहले ईन्टरनेट केवल कम्पनीको लापर्वाहीले पौडेलको ज्यान गएको भन्दै दोषिमाथि कारवाही र पीडितलाई क्षेतिपूर्ती दिन माग गरेका हुन् ।

Comments
Loading...