पोखराको फेवाफाँटमा दाईँ महोत्सवको रौनक(भिडियो सहित)

हिमाली आवाज । पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवातालको सिरान फेवाफाँटमा परम्परागत शैलीमा दाईँ गरी खेती भित्राउने कार्यलाई नयाँ पुस्ता एवं पर्यटकका लागि चिनारी दिने उद्देश्यले आज प्रथम दाईँ महोत्सव सम्पन्न भएको छ ।

सो महोत्सव पोखरा पर्यटन परिषद्को आयोजनामा भएको हो । दाईँ महोत्सवमा पर्यटक, पर्यटन व्यवसायी, कृषक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । परम्परागत रुपमा गोरुको प्रयोग गरेर दाईँ गरिएको थियो । महोत्सवमा धान चुट्ने,कुनियोबाट धान झिक्ने, बत्ताउने तथा गोरु खेद्ने लगायतका कार्यमा सहभागीहरु रमाइलो मान्दै सहभागी भएका थिए ।

पोखरा ‘सवै मौसमका लागि’ भन्ने नाराका सहित ‘अफ सिजन’मा समेत पर्यटकहरुलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सो महोत्सव गरिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ दाईँ महोत्सवमा पर्यटक तथा युवालाई संग्लग्न गराउँदै यसको संरक्षण गर्ने उद्धेश्य हो । यसबाट पर्यटन प्रवद्र्धन सहित परम्परागत कृषि प्रणालीका बारेमा प्रत्यक्ष अनुभूति गराइएको थियो ।”

परिषद्ले गत असार १५ गते सोही स्थानमा असारे रोपाई महोत्सव गरेको थियो । रोपाई महोत्सवपछि अहिले थान धन्काउने बेलामा दाईँ महोत्सव गरिएको हो । बढ्दो शहरीकरण र स्थानीयको वदलिदो जीवन शैलीले रम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्नमा महोत्सव सफल भएको आयोजकको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिँह गुरुङले पोखरामा हरेक महिना पर्यटन प्रवद्र्धन गर्ने गतिविधिहरु भइरहेको बताउनुभयो ।

“पोखरा देशको पर्यटन राजधानी घोषणापछि अहिले धेरै पर्यटन प्रवद्र्धन गर्ने खालका कार्यक्रम भइरहेको छ । दाईँ महोत्सवले कृषि पेशाप्रतिको आकर्षण वृद्धि गरी पर्यटन विकासमा समेत मद्धत पुग्दछ ।” उहाँले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपीबहादुर भट्टराईले खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा घटिरहेको अवस्थामा यसको जगेर्नाको लागि सन्देश महोत्सव सफल भएको बताउनुभयो ।कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले कृषि पेशामा लाग्नका लागि युवालाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

Comments
Loading...