पोखरामा भोलीदेखी ‘टाइगर कप’ भलिबल, तयारी पूरा

हिमाली आवाज । पोखरा रङ्गशालामा भोली माघ १२ गतेदेखी सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ गरी कूल १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले रङ्गशालामा सो ट्रफी अनावरण गर्नुभयो ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् ।“प्रतियोगिताको सबै तयारीका काम पूरा भएको छ । सबै टोली पोखरा आइसकेका छन् । शनिबार भव्य रुपमा प्रतियोगिता उद्घाटन गर्दैछौँ।” शर्माले भन्नुभयो ।

प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुने भएको छ ।

सार्वजनिक भएको खेल तालिकाअनुसार पहिलो खेल महिलातर्फ एपिएफ र ट्राभल इन्क्वारीबिच हुनेछ । उक्त खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलि बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ ।

भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुनेछ । त्यसपछि साढे एक बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुनेछ । पहिलो दिनको तेस्रो तथा अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुने बताइन्छ ।

प्रतियोगितामा विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । द्वितीय टोलीलाई समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय टोलीले रु एक लाख ८५ हजारा पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७, पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार पाउनेछन् ।

विगतका वर्षहरुमा भन्दा यस वर्षको प्रतियोगता भव्य बनाउने गरी आफूहरु लागि परेको संयोजक ज्ञवालीले बताउनुभयो । उहाँले विदेशका उत्कृष्ट टोली र नेपाली टोलीमा समेत रहेका विदेशी खेलाडीहरुको प्रदर्शनले प्रतियोगिता रोचक बन्ने अपेक्षा गरिएको बताउनुभयो ।

प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकहरुलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्नका लागि विगतमा भन्दा प्यारापिटको क्षमता विस्तार गरिएको र समयानुकुल डिजिटल प्रविधिमैत्री बनाउँदै प्रतियोगितालाई प्रविधिमा समेत अन्तर्राष्ट्रियस्तरकै बनाउने प्रयास प्रचार प्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो ।

Comments
Loading...