पोखरामा टाइगर कप भलिबलको शुभारम्भ,स्थगित भयो आर्मी र आयोजक टोलीको खेल

हिमाली आवाज । एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक टोलीबिचको खेल स्थगित भएको छ । पहिलो दिनको अन्तिम खेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो ।

पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल ग¥यो । त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गर्नुभयो । खराब प्रकाशका लागि खेल स्थगित गरिएको हो ।

अब उक्त आइतबार गर्ने रेफ्रि थापाले बताउनुभयो । ‘पर्सिदेखि लिग सुरु हुन्छ । भ्याएसम्म भोलि नै गर्ने हो । सुरुमा गर्ने कि कतिबेला गर्ने छलफल भइराखेको छ,’ उहाँले भन्नुभयो।

यसअघि भएको खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो । यस्तै आजै भएको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।

प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्र्दै उहाँले सरकारको सपना पोखरालाई सबै हिसाबले समृद्ध बनाउने रहेको उल्लेख गर्नुभयो ।

“गण्डकी प्रदेश स्रोत र साधनले सम्पन्न छ । मानवीय प्रयासले अझ शान्त र सभ्य, समृद्ध बनाउने हाम्रो सपना छ । पर्यटकीय राजधानीसँगै पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्दछ ।”सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

पोखरा खेलकुद राजधानीसँगै शिक्षा र स्वास्थ्यको राजधानी बनाउनका लागि भौतिक पूर्वाधार निर्माण सरकारको योजनामा रहेको बताउनुभयो ।पोखरमा सञ्चालन हुने टाइगर कप भलिबल सहित, आहा रारा गोल्डकप फुटबल, अन्तर्राष्ट्रिय म्याराथन लगायतले प्रतियोगिताहरु मौलिक प्रतियोगिता रहेकाले दर्शकको सहभागिताले महान् र सफल बन्ने गरेको उहाँको भनाई छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले पोखरालाई सूचनाप्रविधिको केन्द्र बनाउने योजना अनुसार पोखरामा ‘आइटी पार्क’ र ‘डाटा सेन्टर’ बनाउने सरकारको योजना रहेको सुनाउनुभयो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले खेलकुद विकासलाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयो । खेल र खेलाडीका लागि महानगरले सहयोग गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ गरी कूल १२ टोलीको सहभागिता रहेको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशमा लोकप्रिय भलिबल खेल विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

प्रतियोगितामा विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाएका छन् ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । द्वितीय टोलीलाई समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय टोलीले रु एक लाख ८५ हजार पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७, पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार पाउनेछन् ।

Comments
Loading...