माछापुच्छ्रेको धम्पुसमा फागुन दोस्रो साता ‘अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय भलिबल’ हुँदै

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा गण्डकी प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता हुने भएको छ ।
गाउँपालिकाले तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय अध्यक्ष कप महिला तथा पुरुष खुला भलिबल प्रतियोगिता गर्न लागेको हो । आगामी फागुन १४ गतेदेखी १७ गतेसम्म सो खेल हुनेछ ।

गाउँ गाउँमा लुकेर रहेका प्रतिभावान् खेलाडीको खेल प्रस्फुटन गराउने र देशका लागि आवश्यक क्षमतावान् खेलाडी उत्पादनको लक्ष्य सहित प्रतियोगिता गर्न लागिएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

“स्थानीय स्तरबाट नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगितालाई यस वर्ष समेत निरन्तरता दिएका छौँ । यसबाट गाउँपालिकाको पर्यटन प्रवद्र्धन हुने समेत विश्वास छ । ” अध्यक्ष गुरुङले भन्नुभयो ।

प्रतियोगितामा पुरुष तर्फ विजेतालाई नगद रु दुई लाख, उपविजेतालाई रु एक लाख र सेमिफाइनलमा पुग्ने दुई टोलीले समान रु ५० हजारका दरले पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।

त्यसैगरी महिला तर्फ प्रथम पुरस्कार रु एक लाख, द्धितीय पुरस्कार रु ५० हजार र सेमिफाइनलमा उपविजेता दुई टोलीलाई समान रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ«े गाँउपालिकाले रु १३ लाख विनियोजन गरेको उपाध्यक्ष सीता अधिकारीले बताउनुभयो । उहाँले यसपटक महिला भलिबल विधा समेत थप गरिएकाले रोचक बन्ने बताउनुभयो ।

“महिलाको समेत खेलकुदमा समान सहभागिता हुनुपर्दछ भनेर यसपटकदेखी महिला भलिबल समेत हुँदैछ । यसबाट प्रतियोगिता रोचक र भव्य बन्ने विश्वासमा छौँ ।” अधिकारीले भन्नुभयो ।प्रतियोगितामा सहभागी टोलीले दुई जनासम्म राष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ ।

माछापुच्छ«े –७ का वडाध्यक्ष वैकुण्ठ प्रसाद भण्डारीले प्रतियोगिता अवधिभर यस क्षेत्रमा भएका होटल व्यवसायीसँग समन्वय गरी सहुलियत प्याकेज घोषणा गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“धम्पुस पर्यटकीय गाउँ हो । यसका साथै विश्व प्रख्यात मर्दी पदयात्राको प्रवेशद्धार रहेकाले प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धन हुने विश्वास छ । ” भण्डारीका अनुुसार धम्पुसमा साना ठूला गरी ४० होटलमा एक हजार जनासम्म राख्ने सकिने क्षमता छ ।

प्रतियोगितामा धेरै पालिकाको सहभागिताका लागि टिम दर्ता शुल्क निःशुल्क गरिएको गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङले बताउनुभयो ।

Comments
Loading...