हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ८ सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसबाट १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । माघ ११ गते राति करिब १ बजे साइमन पार्टी प्यालेसको कार्यालयबाट उक्त नगद चोरी भएको थियो ।
कास्की जिल्ला प्रहरी कार्यालयले उक्त पैसा चोरी मुद्दामा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ३ घर भएकी २९ वर्षीया पूजा श्रेष्ठलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा आइतबार उनीहरुलाई बुटवल– ११ कालिका नगरस्थित एक होटलबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपितको साथबाट नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ र तीनवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ दुवैजनामाथि चोरी तथा डाँका मुद्दामा अनुसन्धान गर्न माघ १३ गतेदेखि लागु हुने गरी ६ दिनको म्याद थपिएको छ ।
