हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा क्रियाशील रहेको सिर्जना साहित्य सदनलाई यस वर्षको हेमराज पहारी स्मृति साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।
ग्रामिण क्षेत्रमा रहेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानसहित विभिन्न साहित्यिक गतिविधिका माध्यमबाट साहित्य क्षेत्रको विकासका लागि योगदान गरेकामा सो पुरस्कार प्रदान गरिएको हो ।
हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा घाचोकमा आज आयोजित एक कार्यक्रमकाबीचमा प्राज्ञ डा. जगमान गुरुङले सिर्जनाका अध्यक्ष शिवप्रसाद पोखरेललाई नगद रु एक लाख र ताम्रपत्र सहित सो पुरस्कार अर्पण गर्नुभयो ।
कार्यक्रममा प्राज्ञ गुरुङले आफ्नो गाउँ, ठाउँको पहिचान, संस्कार र संस्कृति संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । “आफ्ना सनातन धर्म, संस्कार र संस्कृति जोगाउनु आवश्यक छ । हुँदै नभएका कुरा भन्दा भएर पनि हराएका कुराको खोजी गर्नुपर्दछ ।” गुरुङले भन्नुभयो ।
माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सिर्जना साहित्य सदन पुरस्कृत हुँदा सिंगो गाउँपालिका नै पुरस्कृत भएको महसुस भएको बताउनुभयो । पुरस्कारले सदनको गरिमा अझै माथि पुगेको भन्दै विगतमा अग्रजले गरेको दुःखको फल मिल्न थालेको बताउनुभयो ।
प्रतिभा चयन समिति संयोजक कृष्णप्रसाद बास्तोलाले कास्कीमा क्रियाशील करिब छ दर्जन साहित्यिक संघसंस्थाबाट सृजना साहित्य सदन छनोट हुन सफल भएको बताउनुभयो ।
प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले सिर्जना साहित्य सदन कास्कीकै एक उत्कृष्ट साहित्यिक संस्था भएकोले पुरस्कार अर्पण गर्ने निर्णय गरेको बताउनुभयो ।

सदनका अध्यक्ष शिवप्रसाद पोखरेलले उत्कष्ट संस्थाको रुपमा छनोट गरी पुरस्कृत गरेकामा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै सम्मानले संस्थाको गरिमा निकै माथि पुगको महसुस भएको बताउनुभयो ।
कार्यक्रममा सदनका पूर्वअध्यक्ष महेश्वर अनुरागी, अग्रज कवि छविलाल आचार्य, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कराज रेग्मी अथक, लोकगायिका हरिदेवी कोइराला लगायतले नेपाली साहित्यका बारेमा उल्लेख गर्नुभयो ।
प्रतिष्ठानकी अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्दराज पहारीले स्वागत र सदनका संरक्षक असफल गौतमले सञ्चालन गर्नुभएको थियो ।
विसं २०६७ सालमा स्थापित प्रतिष्ठानले सिर्जनालाई प्रदान गरेको यो पुरस्कार आठौँ हो । प्रतिष्ठानले यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, विमल गुरुङ स्मृति पुस्तकालय धरान, पोखरास्थित लोककवि अली मियाँ (मरणोपरान्त), झरना साहित्य परिवार मकवानपुर, साहित्य सन्ध्या काठमाडौँ, साहित्यकार सरुभक्तलाई पुरस्कार अर्पण गरेको थियो ।
साहित्यकार हेमराज पहारीको विसं २०६६ फागुन १७ गते सडक दुर्घटनामा निधन भएको थियो । पहारीको स्मृतिमा स्थापित प्रतिष्ठानले हरेक दुई वर्षमा पुरस्कार अर्पण गर्दै आइरहेको छ ।
सिर्जना साहित्य सदन विसं २०५४ देखि नेपाली साहित्यको विकासमा निरन्तर क्रियाशील छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानसहित विभिन्न साहित्यिक गतिविधि गर्दै आएको सदनले हरेक वर्ष मुखपत्र ‘सिर्जना’ प्रकाशन गर्दै आइरहेको छ ।