कास्कीका पालिकाको वित्तिय सुशासन नतिजा:रुपा पहिलो हुँदा माछापुच्छ्रे पुछारमा

हिमाली आवाज । जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक बर्ष २०८०÷८१ को वित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ।

जिसस कास्कीले मंगलबार विशेष कार्यक्रम मार्फत सार्बजनिक गरेको नतिजा अनुसार कूल सय अंक भारमा रूपा गाउँपालिकाले ६८ प्रतिशत अंक सहित प्रथम हुन सफल भयो ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत,मादी गाउँपालिकाले ६१.५ प्रतिशत ,पोखरा महानगर पालिकाले ४७.५ प्रतिशत र माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत प्राप्त गरे । माछापुच्छ्रे गाउँपालिकामा वित्तिय सुशासनमा पालिकाहरुमा अन्तिममा परेको छ । सार्वजनिक गरिएको नतिजाले माछापुच्छ्रे गाउँपालिकामा वित्तिय सुशासन सबैभन्दा कमजोर पाइएको हो ।

कमजोर वित्तीय अनुशासन देखिनु भनेको पालिकामा प्रणाली बसिसकेको छैन, क्षमता विकास भइसकेको छैन , बजेट तथा कार्यक्रम तर्जुमा, खर्च व्यवस्थापन र प्रतिवेदन एवं समीक्षाको परिपाटी नभएको पुष्टि हुने जानकारहरुको भनाई छ ।

स्थानीय तहहरुबाट गत आर्थिक वर्ष २०८०।०८१ मा सम्पादित  कामहरुका आधारमा पालिकाहरुको सुशासन मुल्यांकन हुने गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिकाहरूको वित्तिय सुशासनको अबस्था अपेक्षाकृत सुधार हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले आगामी बर्षका नतिजामा सुधार गर्ने गरेर आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्बक लाग्नुपर्ने बताउनुभयो ।

बित्तीय सुशासनको बिषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नु पर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गर्नुभयो । उन्नत खालको सुशासन उत्कृष्ट बित्तिय सुशासन बिना असम्भव रहेको पौडेलको भनाइ थियो।

प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत जिसस कास्कीका उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख ,उप– प्रमुख ,प्रशासकिय अधिकृत , कर्मचारी ,संचारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Comments
Loading...