हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले नागरिकता सिफारिस र प्रतिलिपि निःशुल्क गरेको छ ।
विभिन्न करले विपन्न नागरिक समस्यामा परेको भन्दै आगामी आर्थिक वर्ष २०८२।०८३ को साउन १ गतेदेखि नागरिकता सिफारिस निःशुल्क गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले हिमाली आवाजलाई जानकारी दिनुभयो । यसअघि पालिकाले नयाँ नागरिकता तथा प्रतिलिपि सिफारिस गर्दा दुई सय राजश्व लिँदै आएको थियो ।

प्रमुख प्रशासकीय अधिृकत सुवेदीले सुरुआतमा गाउँ कार्यपालिका बैठकमा नागरिकता सिफारिस निःशुल्क गर्ने प्रश्ताव आएकामा पछि त्यसलाई गाउँसभाबाट अनुमोदन गरिएको जानकारी दिनुभयो । “जनताले नागरिकता सिफारिस एक पटक लिने हो । यसलाई निःशुल्क गर्नु राम्रो हुन्छ भन्ने प्रश्तावलाई गाउँसभाले अनुमोदन गरेपछि भोली साउन १ गतेदेखी सवै वडामा कार्यान्वयनमा जान्छ । थोरै भएपनि यसले जनतालाई राहत पुग्ने विश्वास लिएका छौँ ।” सुवेदीले भन्नुभयो ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जनसेवामूलक काम गर्ने उद्देश्यसहित नागरिकता सिफारिस शुल्क हटाइएको बताउनुभयो । उहाँले भन्नुभयो,“जनताको सहुलियतका लागि सबैखाले सेवा प्रत्यक्ष दिन खोजेका छौं, शुल्क अभावका कारण कोही पनि नागरिकताबाट वञ्चित हुन नपरोस् भनेर राजस्व हटाइएको हो।”
उपाध्यक्ष अधिकारीले जनतालाई कर र राजश्वबाट थोरै पनि राहत दिने योजनामा गाउँपालिका रहेको स्पष्ट पार्नुभयो ।