उल्लेरी–घोडेपानी सडक खण्डमा मोटरेवल कल्र्भट पुल निर्माण सुरु, पर्यटकलाई सुविधा पुग्ने

हिमाली आवाज ।  अन्नपूर्ण संरक्षण क्षेत्र भित्रको महत्वपूर्ण विश्वप्रख्यात पर्यटकीय गन्तव्य घोडेपानी जाने प्रमुख सडकमार्ग विरठाँटी– तीखेढुङ्गा– उल्लेरी–घोडेपानी खण्डमा मोटरेवल कल्र्भट पुल निर्माण सुरु भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरीदेखी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गन्तव्य घोडेपानी जोड्ने सो सडकको अन्नपूर्ण–८ मा पर्ने मताठाटीमा आज कल्भर्ट पुल निर्माण शिलान्यास गरिएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्षको योजनामा समावेश रु २६ लाख लागतमा पुल निर्माण अघि बढाएको हो । पुल निर्माणसँगै कास्कीको नयाँपुल विरेढाँटी हुँदै विश्वप्रख्यात घोडेपानी पुन हिल पुग्ने पर्यटक लाभान्वित हुनेछन् ।

वर्खाको समयमा सास्ती पाउँदै आएका स्थानीय र पर्यटकले कल्भर्ट पुल बनेसँगै वर्षभरी सहज यात्रा गर्न पाउने अन्न्पूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यस सडकलाई गाउँपालिकाले महत्वपूर्ण पूर्वाधार परियोजनाका रुपमा लिएको छ । संघ र प्रदेश सरकारको समेत लगानीमा यो सडक स्तरोन्नति भइरहेको छ । मोटरेवल कल्र्भड पुल निर्माणलाई गाउँपालिकाले यथाशीघ्र सम्पन्न गरी बर्खायाममा हुने जोखिम तथा असुविधा न्यूनीकरण गर्ने लक्ष्य राखेको छ ।”

पुल निर्माणसँगै यातायात सहजता, जीवनस्तर सुधार र जोखिम न्यूनीकरणको अपेक्षा गरिएको छ । महत्वपूर्ण पर्यटकीय गन्तव्यमा बन्ने पुलले पर्यटक आगमन वृद्धिका साथै पर्यटकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको अध्यक्ष केसीले बताउनुभयो । “कल्भर्ट पुलको निर्माणले पर्यटकीय रुपमा महत्वपूर्ण उल्लेरी–घोडेपानी क्षेत्रको यातायात सहज बनाउने छ । ” उहाँले भन्नुभयो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको नयाँपुलबाट यो सडक वीरेठाँटी हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, शिख, घार हुँदै पालिकाको केन्द्र पोखरेबगर जोडिन्छ ।

यो सडकलाई धार्मिक सडक‘मुक्ति मार्ग’को रुपमा समेत लिइएको छ । विगतमा पोखरा–बाग्लुङ राजमार्ग नबन्दा यही मार्ग हुँदै मुस्ताङ आवतजावत हुने गरेको थियो । यसलाई धार्मिक सडकका रुपमा पोखरा–मुस्ताङ जोड्ने वैकल्पिक सडकको रुपमा समेत हेरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवि बरालले बताउनुभयो ।

“वर्खायाममा जहिलेपनि सास्ती थियो ।  हिम पाइप राखेर सवारी आवतजावत हुने गरेपनि खोलामा बाढी आउने वित्तिकै बगाउने गरेकाले स्थानीयसँगै पर्यटकलाई समेत दुःख थियो । अहिले कल्भर्ड निर्माण सुरु भएसँगै सानो कामले पनि जनतालाई सुविधा हुने देखिएको छ ।” बरालले भन्नुभयो ।

पोखरादेखी मुस्ताङ जोड्ने वैकल्पिक सडक समेत रहेकाले यहाँ निर्माण हुने छ मिटर फराकिले कल्भर्डको  ठूलो महत्व रहेको उहाँको भनाई छ । शिलान्यसा कार्यक्रममा वडा नं. ८ र ९ का जनप्रतिनिधिहरू, वडा सदस्यहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Comments
Loading...