हिमाली आवाज । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा जारी आइटिएफ जे–३० वर्ल्ड टेनिस टुर अन्तर्गत सर्किट २ अन्तर्गत बुधवार विभिन्न चरणका खेलहरू सम्पन्न भएका छन् ।
ब्वाइज’ सिंगल्सको राउन्ड अफ १६मा नेपालका दुई खेलाडीले पनि प्रभावशाली प्रदर्शन गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल हुनु भएको छ । नेपालका प्रणव मनन्धरले भारतका यश कुमारलाई ६–१, ६–१ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्नु भयो । नेपालका करन बी थापाले चीनका चुवान डिङलाई सनसनीपूर्ण खेलमा ५–७, ६–४, ७–६(२) ले हराउँदै जित निकाल्न सफल हुनु भयो ।
यस्तै गल्र्स सिंगल्समा नेपालकी स्वस्तिका विष्टले भारतीय अनन्या जैनलाई कठिन संघर्षपछि ४–६, ६–१, ७–६(४) ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाउन सफल हुनु भयो । तेस्रो सेटको टाइब्रेकमा स्वस्तिकाले उच्च धैर्य र संयमता प्रदर्शन गर्दै शानदार जित आफ्नो पोल्टामा पार्न सफल हुनु भयो । शीर्ष शिडिङ ताइवानका टिङ–हो याङले भारतका प्रतीक शोरण विरुद्ध खराब सुरुआतपछि कमब्याक गर्दै ०–६, ६–३, ६–२ ले जित निकाल्दा चीनका यान्सुओ पानले भारतका शशांक कर्णाटी विरुद्ध ६–२, ६–३ ले जित दर्ता गर्नुभयो । भारतका अर्श काथुरियाले सिंगापुरका रोबर्ट डोल्यालाई २–६, ७–५, ६–१ ले हराउँदै दिनको ठूलो अपसेट सिर्जना गरे भने चीनका जियालियाङ गुओले भारतका माधव दिक्षितमाथि ६–२, ६–४ को जीत हासिल गर्नुभयो ।
कोरियाली युल हो जुङले उतार–चढावपूर्ण खेलमा दक्ष दीपक पाटिललाई ६–१, २–६, ६–२ ले रोक्दै क्वार्टरफाइनल स्थान सुनिश्चित गर्नूभयो । त्यस्तै श्रीलंकाका गानुका फर्नान्डोले भारतका निकुञ्ज खुरानालाई १–६, ६–२, ६–२ ले पराजित गर्नुभयो । डबल्सतर्फ कोरिया–भारतको जोडी क्युन्गबिन आन र दक्ष दीपक पाटिलले भारतका माधव दिक्षित र यश कुमारको जोडीलाई ६–४, ६–१ ले हराए भने भारतका प्रतीक शोरण र अनुज अभिजित तसिल्दारले गानुका फर्नान्डो र तेजस रविलाई ६–२, ६–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान शुरक्षित गर्नुभयो । यस्तै कोरियाली ह्योजिन हा र युल हो जुङले रेहान गुणवर्धना र असव सम्राट हाडालाई ६–०, ६–४ ले पराजित गर्नुभयो ।
यसै गरी चीनका जियालियाङ गुओ र जुनलिन सुले शशांक कर्णाटी र करन बी थापा विरुद्ध मेडिकल कारणले वाकओभर पाएपछि सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । क्यानडाकी नोरा चौधरी र भारतकी जहनवी तमिनेदीले पहिलो वरीयता प्राप्त भारतीय कर्थिका पद्मकुमार र नेपाली सुनीरा थापामाथि ६–३, १–६, (१०–७) को संघर्षपूर्ण जित हासिल गर्नुभयो भने शिभाली गुरुङ (नेपाल) र के–चिएह सु (ताइवान) ले भारतकी इशा शर्मा र बुल्गेरियाकी सोफिया जाखार्किभलाई ६–०, ६–१ ले पराजित गर्दै सहज रूपमा सेमिफाइनलमा यात्रा तय गर्नुभयो ।
नेपालकी स्वस्तिका विष्ट र नाला अमेरिकाकी जोसेफिन मास्कीको जोडीले चीनकी युनर ची र भारतकी मेहा पाटिललाई ६–४, ६–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्दा तेजस्वी मन्नेनी (भारत) र बोइदेही उकिल (न्युजिल्यान्ड) ले भारतीय जोडी प्रियांशी कठियाल र सताक्षिका सहायकलाई ३–६, ६–४, (१०–८) ले हराउँदै सेमिफाइनल यात्रा यत गर्नुभयो । प्रतियोगितामा ब्वाइज डबल्स तथा गल्र्स डबल्सतर्फका खेलहरू समेत जारी रहेका छन् । शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिनुभयो ।

