हिमाली आवाज । नेपाल हेभी इक्विपमेन्ट अपरेटर संघ, पोखराको पाँचौँ अधिवेशन तथा स्थापना भएको एक दशक पूरा भएको अवसरमा आयोजना गरिएको ‘एक दशक स्मारिका’ विमोचन कार्यक्रम भोलि आइतबार हुँदैछ ।
पोखरा महानगरपालिका–१४, चाउथेमा हुने अधिवेशन तथा स्मारिका विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ ।
संघका अध्यक्ष किशोर प्रसाद गौतमले पाँचौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै अधिवेशनलाई सफल बनाउन आवश्यक सबै व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो।
“हाम्रो संघले स्थापना भएको एक दशक पूरा गरेको अवसरमा विशेष कार्यक्रमसहित पाँचौँ अधिवेशन आयोजना गरेका छौँ,” उहाँले भन्नुभयो, “यस अधिवेशनले संस्थाको आगामी नेतृत्व चयन गर्नुका साथै संघको भावी कार्यदिशासमेत तय गर्नेछ।”अध्यक्ष गौतमले नयाँ नेतृत्व चयनसँगै संघलाई थप सशक्त, व्यवस्थित र सदस्यको हकहितमा केन्द्रित बनाउने उद्देश्य रहेको बताउनुभयो ।
संघका सचिव कृष्णप्रसाद पौडेल ले कार्यक्रमको सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भएको बताउनुभयो। “अधिवेशन, स्मारिका विमोचन, सम्मान तथा विभिन्न कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने गरी तयारी पूरा गरेका छौँ,” उहाँले भन्नुभयो, “सम्पूर्ण पदाधिकारी, सदस्य तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भएर सफल बनाउन आग्रह गर्दछौँ।”
कार्यक्रम बिहान सदस्यता वितरणसँगै सुरु हुने र बिहान ११ बजे औपचारिक उद्घाटन गरिने जनाइएको छ। अधिवेशनको अवसरमा संघको स्थापना भएको १० वर्ष पूरा भएको स्मरणमा तयार गरिएको ‘एक दशक स्मारिका’ विमोचन, कदरपत्र तथा मायाको चिनो वितरण गरिनेछ ।
त्यस्तै, एसएलसी तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने संस्थाका सदस्यका बालबालिकालाई सम्मान गर्ने, ज्येष्ठ अपरेटरलाई सम्मान गर्ने तथा संघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।
कार्यक्रमअन्तर्गत दिउँसो २ बजे बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रले संघको भावी नीति तथा कार्यक्रमबारे छलफल गर्नुका साथै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
