घाचोकको गौरीशंकर आमा समूहबाट बाढीपीडितका लागि २० हजार सहयोग

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकमा रहेको गौरीशंकर आमा समूहले भोटेकोशी बाढी प्रभावितका लागि रु २० हजार १०५ सहयोग गरेको छ ।

प्राकृतिक विपद्का रूपमा आएको बाढीका कारण रसुवागढी नाका क्षेत्र हुँदै प्रभावित भएका परिवारले घर, धनसम्पत्ति तथा दैनिक उपभोग्य सामग्री गुमाइरहेका बेला सानो भएपनि सहयोगका लागि आमा समूहले सो सहयोग गरेको हो ।

आमा समूहले मानवीय सेवाको भावनासहित उक्त रकम सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको जनाएको छ ।
विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु मानवीय कर्तव्य भएको उल्लेख गर्दै समूहले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।

समूहको उक्त सहयोगले दुःखमा साथ र अप्ठ्यारोमा सहयोग गर्ने मानवीय भावनालाई थप बल पुगेको भन्दै सहयोगी सम्पूर्ण पदाधिकारी तथा सदस्यप्रति धन्यवाद व्यक्त गरिएको छ ।

Comments
Loading...