बाढीबाट प्रभावितका लागि ग्लोबल कलिजियटद्वारा १० लाख बढी सहयोग

पोखरा । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरास्थित ग्लोबल कलिजियट स्कुलले १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको हो।
विद्यालयका प्राचार्य बाबुराम पन्तका अनुसार विद्यार्थीबाट ३ लाख २३ हजार १९५, शिक्षक तथा कर्मचारीबाट ३ लाख ३० हजार ५१० र विद्यालय प्रशासनबाट ३ लाख ५० हजार गरी कुल १० लाख ३ हजार ७०५ रुपैयाँ संकलन गरिएको हो।
संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्ने गरी हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी र प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमलाई हस्तान्तरण गरिएको प्राचार्य पन्तले जानकारी दिनुभयो ।
हिसान कास्कीमार्फत ६ लाख ७० हजार तथा प्याब्सन कास्कीमार्फत ३ लाख ३३ हजार ७०५ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा पठाउने व्यवस्था गरिएको प्राचार्य पन्तले बबताउनुभयो ।

यसैबीच विद्यालयले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै बेपत्ता नागरिकको सकुशल खोजी तथा उद्धारको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्राचार्य पन्तले विज्ञप्ति जारी गर्दै विपद्को घडीमा शिक्षण संस्था केवल पठनपाठनमा सीमित नभई सामाजिक र मानवीय उत्तरदायित्वमा पनि अग्रसर हुनुपर्ने उल्लेख गर्नुभयो ।

Comments
Loading...