हिमाली आवाज । विपद्मा परेका नुवाकोट र रसुवाका नागरिकलाई राहत पुर्याउन पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) प्रभावित बस्तीमै पुगेको छ।
स्ववियुले सञ्चालन गरेको राहत संकलन अभियानबाट जुटेको खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका अत्यावश्यक सामग्री लिएर स्ववियु अध्यक्ष विष्णु पोखरेलको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा पुगेको हो।
टोलीले नुवाकोट र रसुवाका देवीघाट, त्रिशुली, बेत्रावती, ग्यार्खुटारलगायतका क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री वितरण गरेको थियो। तत्काल आवश्यक नभएका तथा स्थानीय आवश्यकताअनुसारका केही सामग्री भने स्थानीय सरकारमार्फत पीडितसम्म पुर्याउने गरी हस्तान्तरण गरिएको स्ववियुले जनाएको छ।
राहत सामग्री लिएर प्रभावित बस्तीमा पुग्दा बाढीले निम्त्याएको क्षति र नागरिकको पीडा नजिकबाट देख्न पाउँदा भावुक बनेको अध्यक्ष पोखरेलले बताउनुभयो।
“पीडाको क्षणलाई हामीले पूर्ण रूपमा मेटाउन त सक्दैनौँ,” उहाँले भन्नुभयो, “तर उहाँहरूको पीडाको घडीमा छेउमा उभिने र सक्दो सहयोग गर्ने प्रयास गरेका छौँ। यस्तो साथले निराशाबीच आशा जगाउन मद्दत गर्छ भन्ने विश्वास छ।”
क्याम्पस परिवार, विद्यार्थी तथा स्ववियुका पदाधिकारी र सदस्यहरूले उपलब्ध गराएका अधिकांश सामग्री प्रभावित परिवारको हातमै पुर्याइएको पोखरेलले जानकारी दिनुभयो। बाँकी सामग्री आवश्यकताअनुसार स्थानीय तहलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो।
“तपाईंहरूले विश्वास गरेर पठाउनुभएको सामग्री केवल सामान थिएनन्, ती सामग्रीभित्र पीडित नागरिकप्रतिको माया, सद्भाव र मानवताको भावना जोडिएको थियो,” पोखरेलले भन्नुभयो, “त्यो सहयोग उहाँहरूको हातसम्म पुर्याउन पाउनु हाम्रा लागि जिम्मेवारीसँगै सन्तुष्टिको विषय हो।”
स्ववियुले राहत अभियानमा सहयोग गर्ने क्याम्पस परिवार, विद्यार्थी, पदाधिकारी तथा सदस्यप्रति आभार व्यक्त गरेको छ।
विपद्ले पुर्याएको क्षति र पीडा लामो समयसम्म रहन सक्छ। तर कठिन समयमा प्राप्त हुने मानवीय सहयोग र साथले प्रभावित परिवारमा पुनः आशा जगाउन सक्ने भन्दै स्ववियुले राहत अभियानलाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाएको जनाएको छ।
