कास्कीमा दूध उत्पादनमा प्रोत्साहन कार्यक्रमले फस्टायो व्यावसायिक पशुपालन

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ ।
पछिल्लो समय यो वडामा मात्र तीन वटा दूध संकलन केन्द्र(डेरी) खुलेका छन् । यहाँ पाँच वर्षका अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ । प्रत्येक घरमा गाईपालन सुरु गरेर दूध बिक्री गर्ने कृषक बढेका छन् ।

सरकारले दूध उत्पादनमा किसानलाई प्रोत्साहन दिएपछि व्यावसायिक दूध उत्पादन वृद्धि भएको हो । सरकारले किसानलाई दूधमा प्रतिलिटर रु पाँच का दरले अनुदान दिने गरेको छ ।

“सरकारले दूध उत्पादनका आधारमा अनुदान रकम दिएपछि किसानलाई राहत भएको छ । गाउँमा पशुपालनको लहरनै चलेको छ । ” स्थानीय कृषक गोपाल पोखरेलले भन्नुभयो,“ चोक्कर, पराल लगायत पशु आहाराको मुल्य वृद्धि हुँदा अझै दूधको मुल्य खर्चका आधारमा न्यून छ, समयाअनुसार दूधको मुल्य समेत बढाउनु आवश्यक छ । ”

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीले जिल्लामा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रममा दूध उत्पादन गर्ने कृषकलाई उत्पादनका आधारमा अनुदान दिइन्छ । सिधै कृषकले नगद रकम अनुदान पाउँछन् ।

गत आर्थिक वर्ष दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत किसानलाई रु दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको कार्यालयका प्रमुख डा गृष्म न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ४४ लाख लिटर दूधको अनुदान दिइइएको थियो । दूध उत्पादन, संकलन तथा औपचारिक बजारिकरणमा आवद्ध सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम कृषकले पाउने गरेका छन् ।

“दूधमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अत्यन्त प्रभावकारी छ । यसबाट कृषकहरु दूध उत्पादन र औपचारिक बजारीकरणमा आवद्ध हुनका लागि प्रोत्साहित हुनुभएको छ । ” कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो ।

गत वर्ष यस कार्यक्रम अन्तर्गत २७ वटा दूध संकलन संस्था÷केन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दूध संकलन भएको विवरणमा उल्लेख छ । साथै आठ हजार ५० जना किसान दूध सङ्कलन प्रणालीमा आवद्ध रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले दूध उत्पादन बढाउन किसानलाई प्रतिलिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई औपचारिक बजारसँग समेत जोड्न सहयोग पुगेको छ ।

उत्पादनमा आधारित अनुदानसँगै पाडीबाच्छी हुर्काउने प्रोत्साहन कार्यक्रमलाई पनि पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा कार्यालयले अघि बढाएको छ ।

यस कार्यक्रममा कोरली बाच्छी र कोरली पाडी हुर्काउनका लागि कृषकलाई रु १० हजारका दरले अनुदान दिइने गरेको छ । यस कार्यक्रमबाट गत वर्ष ९९ कोरली पाडी र ३५५ बाच्छी हुर्किइ माउ बन्न योग्य भएको र दूधालु पशुको संख्यामा ४५४ ले वृद्धि भई यस वर्ष १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुने कार्यालयको अनुमान छ ।

कास्की जिल्लामा कूल एक लाख २० हजार ५७२ घरधूरी रहेकामा ५२ हजार ३२३ परिवार पशुपालमा आवद्ध रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।

Comments
Loading...