हिमाली आवाज । घरेलु टोली गण्डकी प्रदेशले नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यास खेलमा लगातार दोस्रो पटक पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा भुटानलाई गण्डकीले ६४ रनले पराजित गर्न सफल भयो । यसअघि हिजोको खेलमा समेत घरेलु टोली विजयी भएको थियो ।
दोस्रो दिनको खेलमा टस जितेर भुटानले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९६ बनाएको थियो । जितका लागि एक सय ९७ रनको लक्ष्य पछएको भुटानी टोेली १७ ओभरको चौथो बलमा एक सय ३२ रन बनाएर ‘अलआउट’ भयो ।
गण्डकीको जितमा करन पगेनी र सिब्रिन श्रेष्ठले समान ४५ रन बनाए । करनले २७ बलमा एक चौका र पाँच छक्का प्रहार गरे भने सिब्रिनले २४ बलमा एक चौका र पाँच छक्का प्रहार गरे । सन्दीप खत्री क्षेत्रीले नौ बलमा ३० रन बनाए । उनले एक चौका र चार छक्का प्रहार गरे । भुटानका सोनाम छोपेलले सर्वाधिक ४३ रन बनाएका थिए । उनले २१ बलमा छ चौका र दुई छक्का हाने ।
भुटानसँगको खेलमा गण्डकीका विपिन खत्रीले चार, दीपक प्रसाद डुम्रेले तीन र सिब्रिन श्रेष्ठले दुई विकेट लिए । खेलमा गण्डकीका सिब्रिन ‘प्लेयर अफ द म्याच’ घोषित भए । भुटानले भोलीदेखि नेपाल क्रिकेट संघ(क्यान ११) सँग दुई खेल खेल्ने यस अघि नै तय भएको छ ।
आगामी अक्टोबर ३ देखी मलेसियामा सुरु हुने आईसीसी ‘मेन्स टी–२०’ विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को प्रतियोगिताको तयारीका लागि भुटानले पोखरालाई रोजेको हो ।
विदेशी टोलीको पोखरामा क्रिकेट खेल्न आएबाट यहाँको क्रिकेट विकाससँगै पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

Comments