कास्कीको अर्मलामा पर्वतीय दौड :सुमन र छेन्वीलाई उपाधि

हिमाली आवाज । पर्वतीय खेलकूदको विकास गर्ने उद्धेश्यले पोखरामा आज आयोजना गरिएको छैटौं संस्करणको ‘महिला÷ पुरुष अर्मला पर्वतीय दौड’को उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ धरानकी छेन्वी मायाँ राईले जित्न सफल हुनुभएको छ ।

पोखरा महानगरपालिका–१६ स्थित समुन्द्र सतहदेखी एक हजार ६०० मिटर उचाईमा अवस्थित रमणीय पर्यटकीय गाउँ अर्मलामा श्रीपञ्चमीको अवसर पारेर अर्मला कोट युवा क्लबले पोखराको केआईसिंहपुलदेखि अर्मलाको खेल मैदानसम्म पर्वतीय दौडको आयोजना गर्दै आएको छ ।
क्लबले पर्यतीय खेलकुदका माध्यमबाट गाउँको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनका लागि सो प्रतियोगिता आयोजना गर्दै आएको छ । अर्मलाकोटलाई यसअघिनै होमस्टे गाउँ समेत घोषणा गरिएको छ ।

पुरुषतर्फको निर्धारित १२ किमी दूरी ५० मिनेट ४८ सेकेण्डमा पूरा गर्दैै सुमनले उपाधि सहित नगद रु २० हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो भने छेन्वीले निर्धारित दूरी एक घण्टा सात मिनेट ५३ सेकेण्ड समयमा पार गरी नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र गर्नुभयो ।

पुरुषतर्फ बैतडीका मोहन देव द्धितीय हुँदै नगद रु १५ हजार र सिन्धुलीका जितेन्द्र दनुवारले तृतीय हुँदै रु १० हजार पुरस्कार पाउनुभयो । धरानका मोहन कुमार राई सान्त्वना हुँदै नगद रु पाँच हजार पुरस्कार पाउनुभयो ।

महिलातर्फ पोखरा–१६ क सङ्गीता विक द्धितीय, स्याङ्जाका रीता गुरुङ तृतीय र पोखरा हेमजाका ओममाया फगामीले सान्त्वना स्थान हासिल गर्नुभएको जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष हरि वरुवालले जानकारी दिनुभयो ।

वडातर्फको दौड प्रतिस्पर्धामा पुरषतर्फ साजन विक, प्रकाश राई, राजकुमार क्षेत्री र अजय गुरुङ क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुँदै क्रमश ः नगद रु आठ, पाँच, तीन र दुई हजार पुरस्कार पाउनुभयो । महिलातर्फ कोमली खड्का र अस्मिता नेपाली प्रथम र द्वितीय हुँदै क्रमश ः नगद रु आठ र पाँच हजार पुरस्कार पाउनुभयो ।ठेलो हान्ने प्रतियोगितामा सिनियरतर्फ पोखरा–१६ का सुरज गुरुङ प्रथम बन्न सफल भई रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

विजेता खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, पोखरा महानगर पालिका –१६ का वडाध्यक्ष जीवन प्रसाद आचार्य लगायतले वितरण गर्नुभयो ।

Comments
Loading...