पोखराको मेयरमा धनराज ३२७२ मतले अघि

हिमाली आवाज । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सवैभन्दा ठूलो पोखरा महानगर पालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार २७२ मतले अघि हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार साँझ जारी गरेको अद्यावधिक मत परिणाम विवरणानुसार ९२ हजार ५६१ मत गणनामा आचार्यले हालसम्म ३७ हजार १२२ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ ।यसैगरी प्रमुखका प्रत्याशी नेकपा(एमाले)का कृष्णबहादुर ३३ हजार ८५० मत प्राप्त गरी आचार्यलाई पछ्याइरहनुभएको छ ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा(एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ३८ हजार ५७६ मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटको ३७ हजार ५४५ मत ल्याउनुभएको छ ।

पोखरा महानगरका ३३ वडा मध्ये हालसम्म २० वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १४ वडामा जित हासिल गरेको छ भने एमालेले छ वडा जितेको छ ।

गत वैशाख ३१ गतेदेखी पोखराको मतगणना सुरु भएकामा हालसम्म नेपाली काँग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको छ । नेकपा(एमाले)ले वडा नं १, ५, ६, ८, १५ र वडा नं २० मा विजयी भएको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । अहिले पोखराको वडा नं १०, ११, १६, १७, १८, १९, २९, ३० र ३१ नं वडाको मतगणना जारी छ ।

Comments
Loading...