हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६३ करोड ३३ लाख ३१ हजार बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सीता अधिकारीले आज ११ औँ गाउँसभामा बजेट कार्यक्रम प्रस्तुत गर्नुएको हो ।
कृषि, पर्यटन, उर्जा र पुर्वाधार क्षेत्रको विकास मार्फत रोजगारी सिर्जना गर्दै गरिबी न्युनिकरणमा तथा निवारणमा योगदान गर्नु बजेटको प्रमुख उद्धेश्य रहेको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।
भौतिक पूर्वाधार विकासमा जोड दिदै अधुरा तथा क्रमागत आयोजनाहरुलाई सम्पन्न गर्ने तथा पूर्वाधार विकास निर्माणमा नयाँ आयोजनालाई विशेष प्राथमिकता दिने, कृषि,पशु, पर्यटन, वन तथा वातावरण क्षेत्रको विकास, विस्तार मार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै आर्थिक विकास, मानव संसाधन विकास ( शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र पोषण) मा जोड दिने र लक्षित वर्ग र समुदायको उत्थानका लागि सामाजिक सुरक्षा र सशक्तिकरणका लागि आयमूलक तथा क्षमता विकासका कार्यक्रमहरु संचालनलाई बजेटमा प्राथमिकतामा राखिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।
बजेटमा पूर्वाधार विकासमा रु १३ करोड ३२ लाख, सामाजिक विकासमा रु सात करोड ४९ लाख ५१ हजार, आर्थिक विकासतर्फ रु तीन करोड ३८ लाख ३० हजार, वन वातावरण तथा विपद् व्यवस्थापमा रु ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ रु एक करोड ६९ लाख र कार्यालय संचालन तथा व्यवस्थापनतर्फ रु १२ करोड १९ लाख विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । बजेटमा सशर्त अनुदान रु २४ करोड ५९ लाख छ ।
बजेटको पूर्ण पाठ यसप्रकार छ ।
श्रद्देय सभाध्यक्ष ज्यू ,
सभाका सम्पूर्ण सदस्य ज्यूहरु,
राष्ट्रसेवक कर्मचारी तथा उपस्थित महानुभावहरु,
१. नेपालको संविधानको धारा230 बमोजिम माछापुच्छ्रे गाउँपालिकाको उपाध्यक्षको हैसियतले यस सम्मानित सभामा आगामी आर्थिक वर्ष २०७९।८० को बार्षिक बजेट पेश गर्ने अनुमति चाहन्छु ।
२.सर्वप्रथम यस अवसरमा लोकतन्त्र प्राप्तीका लागी त्याग र नेतृत्व प्रदान गर्नुहुने अग्रज राजनितिज्ञहरु प्रति उच्च सम्मान प्रकट गर्दछु ।राष्ट्र र जनताको लागि आफ्नो जिवन समर्पण गर्नुहुने ज्ञात अज्ञात शहीदहरुप्रति सम्मानका साथ हार्दिक श्रद्दान्जली अर्पण गर्न चाहन्छु । शहिदहरुका सपना र अग्रजहरुको मार्गदर्शन बमोजिम समृद्द नेपाल निर्माणलाई सार्थक तुल्याउने र संबैधानिक व्यवस्थालाई सही र सकारात्मक कार्यान्वयनको यात्रामा हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षा गर्दछु ।
३.यस गाउँपालिका भौगोलिक, प्राकृतिक,ऐतिहासिक,साँस्कृतिक,पर्यटकीय महत्वका दृष्टिले अत्यन्त प्रवल सम्भावना बोकेको र विभिन्न भौगोलिक विविधतायुक्त भएकाले यस गाँउपालिकालाई समृद्ध बनाउन “पर्यटन, कृषि, उर्जा र पुर्वाधारः समृद्ध माछापुच्छ्रेको मुल आधार” भन्ने मुल नारालाई साकार पार्दै मानव जीवन रक्षा गर्ने, भविष्यप्रती आधारयुक्त आशा जगाउने र अर्थतन्त्रको पुनरुत्थान गर्दै तीव्र विकासको बाटोमा लैजाने गरी आगामी आर्थिक बर्षको बजेट परिलक्षित रहेको छ।
श्रद्घेय अध्यक्ष एवं सदस्य ज्यूहरु,
५. नेपालको संविधान, पन्ध्रौं योजना, दिगो विकासका लक्ष्य, मध्यमकालीन खर्च संरचना, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, गण्डकी प्रदेशको आवधिक योजना, स्थानीय सरकार संचालन ऐन २०७४, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४,यस माछापुच्छ्रे गाउँपालिकाको प्रथम आवधिक योजनाको आधारपत्र, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र आर्थिक विधेयकलाई आधार बनाएर योजना तर्जुमा प्रकृयाका चरणहरु अवलम्वन गरी सहभागितामुलक ढंगले बजेट तर्जुमा गरिएको छ। प्रस्तुत बजेट तर्जुमाको सिलसिलामा स्थानीय राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम समिति, वडा समिति, विभिन्न विषयगत समिति, संघ संस्था, राजनितिक दल, नागरिक समाज एवं विज्ञ समुहको परामर्श लगायत सम्पूर्ण सरोकारवालाहरुबाट प्राप्त सुझावलाई समेत ध्यान दिइयो बजेट तयार गरिएको छ ।
६. सीमित स्रोत साधनले असिमीत माग र बढ्दो आकांक्षा एकैपटक सम्बोधन गर्न नसकिने यथार्थता एकातर्फ छ भने स्रोतको न्युनताको कारण हामीले चाहे जस्तो विकासका कार्यहरुमा लगानी बृद्धि गर्न सकिएको छैन । यो बजेट तर्जुमा गर्दा संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने शर्शत अनुदान, वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान र विशेष अनुदान, राजश्व बाँडफाँड र गाउँपालिकाको आन्तरिक आम्दानी समेतको अनुमानमा स्थानीय स्रोत र साधनको परिचालन गरी सेवा, उत्पादन र रोजगारी अभिवृद्धि गर्ने योजना र कार्यक्रममा केन्द्रित गरी सकेसम्म गाउँपालिकाको समग्र विकासलाई सन्तुलित बनाउने गरि बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
श्रद्घेय अध्यक्ष एवम् सदस्य ज्यूहरु,
अव म गाउँपालिकाको समष्टिगत विकासका लागि आगामी आर्थिक वर्ष २०७९।८० को बजेटका उद्देश्यहरु तथा प्राथमिकताका क्षेत्रहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
बजेटका उद्देश्यहरुः
- आर्थिक, भौतिक, सामाजिक, सांस्कृतिक, प्राविधिकर मानव संसाधनको विकास गर्नु ।
- संकटग्रस्त अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनु ।
- उपलब्ध स्रोत र साधनको संरक्षण, संवर्द्धन, उपयोगर परिचालन गर्दै समाजबाद उन्मुख आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान पुर्याउनु ।
- सार्वजनिक सेवालाई समावेशी, व्यवसायीक, प्रतिस्पर्धी, सेवामुखी र स्वावलम्बी बनाउदै स्थानीय सुशासन कायम गर्नु।
- कृषि, पर्यटन, उर्जा र पुर्वाधार क्षेत्रको विकास मार्फत रोजगारी सिर्जना गर्दै गरिबी न्युनिकरणमा तथा निवारणमा योगदान पुर्याउनु ।
- शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी तथा सरसफाई लगायतका सार्वजनिक सेवा सुविधालाई सहज र सर्बसुलभ बनाउनु।
बजेट प्राथमिकताका क्षेत्रहरु
आगामी आ.व. २०७९।८० को लागि विकासका प्राथमिकताका क्षेत्रहरु देहाय बमोजिम रहेका छन् ।
- भौतिक पूर्वाधार विकासमा जोड दिदै अधुरा तथा क्रमागत आयोजनाहरुलाई सम्पन्न गर्ने तथा पूर्वाधार विकास निर्माणमा नयाँ आयोजनालाई विशेष प्राथमिकता दिने ।
- कृषि,पशु, पर्यटन, वन तथा वातावरण क्षेत्रको विकास, विस्तार मार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै आर्थिक विकासमा जोड दिने ।
- मानव संसाधन विकास ( शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र पोषण) मा जोड दिने।
- लक्षित वर्ग र समुदायको उत्थानका लागि सामाजिक सुरक्षा र सशक्तिकरणका लागि आयमूलक तथा क्षमता विकासका कार्यक्रमहरु संचालनमा जोड दिने ।
- सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र सर्वसुलभ बनाई नागरिकको पहुंचमा अभिवृद्धि गर्ने ।
श्रद्घेय अध्यक्ष
एवं सदस्य ज्यूहरु,
अब म, आगामी आर्थिक वर्ष २०७९।८० कोबजेटतथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
सर्वप्रथम म अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड र यस गाउँपालिकाको आन्तरिक स्रोत स्थानीय सरकार राजस्व बाँडफाँड गरि कूल रु. ६३ करोड ३३ लाख ३१ हजार बजेटको विनियोजन सम्बन्धी विवरण प्रस्तुत गर्न चाहन्छु ।
सामाजिक विकास
शिक्षा, युवा तथा खेलकुद
- स्थानीय कला, संस्कृति, साहित्य, धर्म तथा अन्य सामाजिक तथासांस्कृतिक धरोहर, पहिचान र विशिष्टतालाई समावेश गरी स्थानीय पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक निर्माण गर्न २० लाख रुपैया विनियोजन गरिएको छ।
- विद्यार्थीको सिकाई उपलब्धि तथा शिक्षकको बार्षीक कार्यसम्पादनको आधारमाउत्कृष्ट शिक्षक तथा विद्यालयलाई प्रोत्साहन र सम्मानको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- वालबिकास कक्षाका सहजकर्ता, कर्मचारीहरूर परिचालिकाहरुको थप पारिश्रमीकको लागी ९८ लाख रुपैया विनियोजन गरिएको छ ।
- सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण तथा सुधार कार्यक्रम साथै शैक्षिक सुधारका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।।
- न्युन दरबन्दी भएका विद्यालयहरुमा थप शिक्षक जनशक्तिलाई ब्यवस्थापन गर्न मापदण्ड बनाई शिक्षक नियुक्ती तथा अनुदानको लागी आवश्यक बजेट विनियोजन गरिएको छ ।
- विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउदै ब्रोडब्याण्ड इन्टरनेट सेवा सहितको भर्चुअल कक्षा सञ्चालन गर्न आवश्यक तालिम तथा सामाग्री सहयोगको लागी १३ लाख रुपैया विनियोजन गरिएको छ ।
- सवै विद्याथी लाई निशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्ने उद्देश्यले हाल लाई कक्षा १ देखि कक्षा ५ सम्म का पाठ्यपुस्तक निशुल्क गर्नको लागी ६ लाख रुपैंया विनियोजन गरिएको छ ।
- विद्याथीहरुको स्वास्थ र खानपानमा सुधार गर्न विद्यालयहरुमा मेडिकल डा आयुवेर्दिक डा सहित स्वास्थकर्मीहरु टिमबाट स्वास्थ शिक्षा योग शिक्षा व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ शिक्षा अभिमुखिकरण कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- विद्यार्थी रुलाई शैक्षिक क्षेत्र विकास साथै खेल क्षेत्रमा विकास गर्ने उद्देश्यका साथ कक्षा १ देखि ८ कक्षा सम्मका अतिरिक्त किलाकपाप सञ्चालनका लागि आवश्यक बजेटको विनियोजन गरिएको छ ।
- सवै विद्यालयहरुमा स्वच्छ सफा पिउने पानीको व्यवस्थापन, बालमैत्री कक्षाकोठा व्यवस्थापनका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
- विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्पादनमा प्रभावकारिता ल्याउन शिक्षक विद्यार्थी नियमितता मार्फत शिक्षकको शिक्षण सिकाइ समयलाइ अधिकतम उपयोग गर्ने उद्धेश्यले (TST)Teacher Spend Time शिक्षण सिकाइ समय कार्यान्वयन डायरी निर्माण व्यवस्थापनका लागि आवश्यक बजेटको विनियोजन गरिएको छ ।
- नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, अखिल नेपाल फुटवल संघ (ANFA) र गाउँपालिकाको सहकार्यमा यस गाउँपालिकाको वडा नं. ६ मा निर्माणाधीन ANFA Technical Center को निर्माण कार्यलाई निरन्तरता व्यवस्थापनका लागि आवश्यक बजेटको विनियोजन गरिएको छ ।
- जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडी, समुह तथा ब्यवस्थापन टोलीलाई पालिकाको तर्फबाट उचित सहयोग, प्रवद्र्धन, सम्मान तथा पुरस्कारको लागि ब्यवस्था गरिनेछ ।
- अध्यक्षकप खेलकुद प्रतियोगीता सञ्चालनका लागि १२ लाख रुपैयाँ र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
- खेल क्षेत्र सवै भन्ने उद्देश्यका साथ जनप्रतिनिधि, कर्मचारी, एवम् शिक्षकलाइ खेलकुद प्रतियोगीता सञ्चालन गर्नका लागि रु ५ लाख विनियोजन गरिएको छ ।
- विदेशबाट फर्केका, वैदेशिक रोजगारीमा जान समस्यामा परेका, स्वदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवाहरूलाई लक्षित गरी स्वरोजगार कार्यक्रम सञ्चालन गर्न उद्यमशीलता विकास कोष मार्फत उद्यम विकास कार्यक्रमलाई सञ्चालन गर्न रु ५ लाख विनियोजन गरिएको छ ।
- वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको सुरक्षित आप्रवासन कार्यक्रमलाई निरन्तरता दिदैं ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न थप बजेट व्यवस्थापन का १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
- स्थानीय स्काउट मार्फत युवामा असल आचरण, स्वावलम्बन र स्वयंसेवी भावनाको विकास गर्दै युवालाई मानवीय सेवा र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा परिचालनका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उल्लेखित योजना र अन्य शिक्षा, युवा तथा खेलकुदसँग सम्बन्धित योजना तथा कार्यक्रम तर्फ जम्मा रु. 3 करोड २९ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्य, आरोग्यता
- गाउँपालिकाको एक वडा एक स्वास्थ संस्थाको अवधारणा अनुसार स्थापित सवै वडाका स्वास्थ संस्थाहरुबाट नेपाल सरकारले तोकेका निःशुल्क औषधी निरन्तर उपलब्ध गराउने ब्यवस्था मिलाउन र गाउँपालकावासीहरूको आकस्मिक स्वास्थ्य सेवाका लागि एम्वुलेन्स सेवा संचालनार्थ ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
- भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाइ थप व्यवस्थति र सुधार गर्नका लागी एक जना रेडियोलोजष्टि व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- रोग निदानका लागि स्वास्थ्य परीक्षणका लागि सार्दीखोला स्वास्थ्य चौकीमा एक जना ल्याव असिस्टेन्टको व्यवस्थाका लागि आवश्यक बजेटको विनियोजन गरिएको छ ।
- ८० बर्ष माथिका जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ जाँच तथा निःशुल्क मधुमेह र उच्च रक्तचाप औषधी वितरण ब्यवस्थाका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
- सवै वडामा स्वास्थ विमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरि गरिव, विपन्न तथा दलित समुदायका विपन्न परिवारलाई नि:शुल्क स्वास्थ्य विमाको ब्यवस्थाका लागि ७ लाख विनियोजन गरिएको छ ।
- विश्वमारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोपबाट पाठ सिक्दै सम्भावित प्रकोपको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेट व्यवस्था गरिएको छ ।
- महिला स्वास्थ्य स्वयम् सेवीकाहरूको प्रोत्साहन भत्ता लगायतका सुविधाको लागि आवश्यक बजेटको विनियोजन गरिएको छ ।
- स्वास्थ्य संस्थाहरुको बर्तमान अवस्था स्वास्थ्य सम्बन्धी सूचकहरु र नागरिकको विद्यमान स्वास्थ्य अवस्था समेटी पार्श्व चित्र तयार गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- उपाध्यक्षसँग गर्भवती सुत्केरी पोषण कार्यक्रम संचालनका लागि ९ लाख रुपैयाँ तथा गाउँपालिकाका सबै प्रसुति गृहहरु (Birthing Center) मा आधुनिक औजार उपकरण खरिद गरी सुबिधा सम्पन्न बनाउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
- सवै नागरिकहरुलाइ स्वास्थ पहुँच पुर्याउन मेडिकल डा सहितको टिम बाट घुम्ती स्वास्थ सेवा साथै समय समयमा स्वास्थ शिविरहरु सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
- भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रमा एकीकृत रुपमा सञ्चालनमा रहेको आयुर्वेदिक स्वास्थ्य सेवा सुदृढ गर्नको लागी ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
उल्लेखित योजना र अन्य स्वास्थ्य आरोग्यता सम्बन्धित योजना तथा कार्यक्रम तर्फ जम्मा रु. 1 करोड 43 लाख 33 हजार रुपैयाँ विनियोजन गरिएको छ।
लैगिक तथा सामाजिक समावेशीकरण र लक्षित बर्ग
- गाउँपालिकामा स्थायी बसोबास भएका नागरिकबाट जन्मेका नवजात बालिकाको सुनौलो भविष्यको लागि उनीहरुको नाममा बैक खाता खोल्ने कार्यक्रमका लागि ५लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
- जेष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रममा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
- महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि उद्यमशिलताको विकास गर्ने र बालमैत्री स्थानीय शासनको अवधारणालाई अबलम्बन गर्न उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमका लागि १२ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
- आर्थिक अभावका कारण उच्च शिक्षाबाट बञ्चितिमा परेका छात्र छात्राका लागि सामुदायिक तथा सरकारी शैक्षिक संस्थाहरूमा अध्ययन गर्न उच्च शिक्षा शैक्षिक छात्रवृत्ति कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
- हिंसा पिडित महिलाहरुलाई तत्काल उद्दार गरि पुनस्थापनका लागि विशेष आर्थिक सहयोगका लागि लैङ्गिक हिंसा निवारण कोषमा आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।
- बालमैत्री स्थानिय शासनलाई अवलम्बन गरी क्रमशः बालमैत्री वडा घोषणा गर्दै लैजानका लागि ६ लाख रुपैया व्यवस्था गरिएको छ ।
- अपांगता भएका व्यक्ति दलित जनजाति युवाहरुलाई स्वरोजगार बनाउनको लागि माग र आवश्यकतामा आधारित विभिन्न आय आर्जनमूलक तालिम तथा सहयोग कार्यक्रम सञ्चालनका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
- महिलाहरुको शसक्तिकरण,क्षमता विकास,नेतृत्व विकास,उद्यम सहायता, स्वरोजगारी तथा लैंगिक हिंसा न्युनिकरण जस्ता विशेष कार्यक्रम सञ्चालनका लागी आवश्यक बजेट विनियोजन गरिएको छ।
- अपाङ्ग, दलित तथा जनजातीहरुको शसक्तिकरणका लागि माग र आवश्यकताको आधारमा विभिन्न सीपमूलक कार्यक्रमका लागी आवश्यक बजेट विनियोजन गरिएको छ।
- समाजमा ब्याप्त अन्धविश्वास, कुरिती,लाल्छना, बोक्सी प्रथा, छुवाछुत प्रथा तथा बालहिंसा, बालविबाह, जस्ता विकृति हटाउन विशेष सचेतनामूलक कार्यक्रम संचालन गर्नका लागीआवश्यक बजेट विनियोजन गरिएको छ।
- जेष्ठ नागरिक दिवा मनोरञ्जन घरहरु स्थापनाका, संचालन र व्यवस्थापनका लागी १० लाख रुपैया विनियोजन गरिएको छ।
उल्लेखित योजनाहरु तथा अन्य लैगिक तथा सामाजिक समावेशीकरण र लक्षित बर्ग सम्बन्धित योजना तथा कार्यक्रम तर्फ जम्मा 95 लाख 33 हजार रुपैयाँ विनियोजन गरिएको छ।
पूर्वाधार विकास
सडक तथा भवन
- गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवन निर्माण कार्यलाई सम्पन्न गर्नको लागी २ करोड रुपैया विनियोजन गरिएको छ।
- कोलचोक-रातोपानीपुल-भलावोट-पानपाते चौतारा-गा.पा केन्द्र-जोगिचौर-पातिखोला-भिडाबारी-गैह्रागाउँ-धिताल-धम्पुस देउराली सडकको लागी ८० लाख रुपैयाँ विनियोजन गरिएको छ।
- लुम्रे-कुइवाङ-सैतिघट्टा-सिधिङ-कालिमाटि-घलेल हुदै लुम्रे सडक योजनाको लागी ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
- मुलबाटो देखि गाउँपालिका भवन सम्मको सडक स्तरोन्नतीको लागी ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।
- आवश्यकताको आधारमा सडक ब्यवस्थापन तथा मर्मत सम्भारका लागी ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।
- लुम्रेको पुल देखि स्वास्थ्य चौकी इमु सम्म सडक स्तरोन्नतीको लागी ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
- प्राविधिक ल्याब स्थापना र सामाग्री खरिदको लागी 15 लाख रुपैयाँ विनियोजन गरिएको छ।
- हुम्दि डाँडागाउँ मोहरा जाने बाटो स्तरोन्नतिको लागी १३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- पानपाते चौतारा देखि टुसे सम्मको सडकमा थर्मोप्लास्टिक लाइनिङ र क्याट आई राख्नको लागी १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
- ट्राँसमिटर चोक वडा कार्यालय हुदै डाँडो सम्मको बाटो कालोपत्रेका लागी ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
- मिर्सा रुम्जा मोटरबाटो स्तरोन्नतिको लागी १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
उल्लेखित योजनाहरु तथा अन्य योजनाहरु समेत गरी सडक पुल तर्फ जम्मा ६ करोड ५० हजार रुपैयाँ तथा भवन तथा सहरी विकास तर्फ ३ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
सिंचाई
- आवश्कयताको आधारमा सिंचाई कुलो मर्मत संभार र सिंचाई पाइप खरिदको लागी २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
उल्लेखित योजना समेत गरी सिंचाई आयोजना तर्फ ७७ लाख रुपैया विनियोजन गरिएको छ।
खानेपानी तथा सरसफाई
- खानेपानीमा गाउँपालिकावासिमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चितताका लागि खानेपानीको पहुँच नपुगेको घरधुरीको तथ्यांक संकलन तथा नक्सांकनको लागी ५ लाख रुपैयाँ र खानेपानी पाईप खरिदको लागी १८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- पालिकाभित्रको फोहोरमैला व्यवस्थापन गर्न ८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
उल्लेखित योजनाहरु तथा अन्य खानेपानी तथा सरसफाई सम्बन्धित योजना तथा कार्यक्रम तर्फ जम्मा 45 लाख 50 हजार रुपैयाँ विनियोजन गरिएको छ।
आर्थिक विकास
कृषि तथा पशु विकास
- बैदेशिक रोजगारीबाट फर्केर कृषि फर्म संचालन गर्नेका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नका लागी ५ लाख रुपैया विनियोजन गरिएको छ।
- गाँउपालिकाका वडाहरुमा उत्पादन भएका कृषि उपजहरुलाइ एकीकृत गर्न सङ्कलन केन्द्रहरु स्थापना गर्न तथा सङ्कलन केन्द्रबाट बजारसम्म लैजानका लागि निशुल्क कृषि एम्बुलेन्सको संचालनका लागी १२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण कार्यक्रमका लागी १० लाख रुपैयाँ तथा साना व्यवसाय विस्तारको लागी एक वडा एक उत्पादनमा आधारीत कार्यक्रमका लागी १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
- कृषकहरुको साझेदारीम स्थायी पलाष्टिक घर निर्माण गर्न १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
- कृषकहरुलाइ बाली रोपण गर्ने समय तालिका सहितको बाली पात्रो तयार गर्न तथा कृषकहरुले लगाएका बालीमा पर्न सक्ने र आउन सक्ने जोखिम, रोग लगायतका विषयमा समयमै जानकारी लिनको लागि डिजिटल कृषि परामर्श एप्स संचालनका लागी आवश्यक बजेट विनियोजन गरिएको छ।
- सवै जातका फलफुल तरकारीका विरुवा उत्पादन गर्नका लागि बहुउद्येश्यीय नर्सरी स्थापना र सञ्चालन गर्नका लागी ६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमका लागी ३ लाख रुपैया तथा प्राकृतिक प्रकोपबाट बाली क्षति भएका कृषकहरुको राहतको ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- सहकारी मार्फत दुध बिक्रि गर्ने दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा प्रोत्साहित गर्न प्रतिलिटर रु.१ अनुदान कार्यक्रमका लागी २० लाख रुपैयाँ विनियोजन गरिएको छ। ।
- गाउँपालिकामा अन्तर्गतका सहकारी संस्थाहरूलाई सबल रूपमा सञ्चालन गर्न पशु बिमा कार्यक्रम सञ्चालन, बहुबर्षे भूई घाँस, पोषिलो हिउँदे घास, बहु बर्षे डाले घाँसका विरूवाहरू लगाउनका लागी ६ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ। ।
- गाँउपालिका भित्र नियमित औषधि वितरण¸ महामारी बिरुद्ध खोप सेवा¸ समय समयमा पशुपक्षी स्वास्थ घुम्ती शिविर¸ बाझोपन निवारण शिविर सञ्चालन गर्नका लागी १८ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ। ।
- अर्गानिक उत्पादनमा जोड दिने उदेश्यका साथ गाईबस्तुको मलमुत्र सङ्कलन गर्नका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गरिनेछ । पशुपालन व्यवसायलाई व्यवसायिक र व्यवस्थित बनाउन गोठ र खोर सुधार कार्यक्रम सञ्चालनका लागी ७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
उल्लेखित योजनाहरु तथा अन्य कृषि तथा पशुपंक्षि विकास सम्बन्धित योजना तथा कार्यक्रम तर्फ जम्मा २ करोड १२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ।

पर्यटन तथा संस्कृति
- पर्यटनलाई स्थानीय आय आर्जनको माध्यम बनाउने उदेश्यले गाउँपालिकामा दर्ता भई सञ्चालनमा रहेका होमस्टे व्यस्थित बनाउन होमस्टे प्रबर्दन कार्यक्रम संचालन गर्नका लागी ७ लाख रुपैयाँ विनियोजन गरिएको छ। ।
- पालिकाभित्र विभिन्न स्थानमा रहेका सार्वजनिक स्थानहरुमा पार्कहरु निर्माणका लागी १८ लाख रुपैयाँ विनियोजन गरिएको छ। ।
- पालिकाभित्र रहेका विभिन्न पर्यटकीय पदमार्गहरुको स्तरोन्नती तथा प्रबर्दन मूलक कार्यक्रम संचालनका लागी २८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- मर्दि हिमाल ट्रेक इन्टरनेट तथा सोलार व्यवस्थापनको लागी ७ लाख रुपैयाँ र महागुरु धार्मिक पर्यटकीय क्षेत्र प्रवर्धनका लागी ९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
उल्लेखित योजनाहरु तथा अन्य पर्यटन तथा संस्कृति प्रवर्धन सम्बन्धित योजना तथा कार्यक्रम संचालनको लागी जम्मा 95 लाख 50 हजार रुपैयाँ विनियोजन गरिएको छ।
सहकारी
- सहकारी संस्थाहरू मार्फत वित्तीय साक्षरता, सहकारी शिक्षा, तालिम र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालनका लागी आवश्कय बजेट विनियोजन गरिएको छ। ।
- दुग्ध सहकारी मार्फत दुग्ध जन्य परिकारहरु उत्पादन गर्नका लागि १५ लाख रुपैयाँविनियोजन गरिएको छ।
उल्लेखित योजनाहरु तथा सहकारी क्षेत्रको समग्र विकासको लागी जम्मा 34 लाख 50 हजार रुपैयाँ विनियोजन गरिएको छ।
उद्योग, श्रम तथा रोजगार
- प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनको लागी आवश्कय सामाग्री तथा औजार खरिद गर्न १० लाख रुपैयाँ साथै लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रममा ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
उल्लेखित योजनाहरु तथा अन्य उद्योग, वाणिज्य तथा रोजगार सम्बन्धि योजना तथा कार्यक्रम संचालन गर्न जम्मा 17 लाख रुपैयाँ तथा युवा उद्यम विकास कोषमा ७० लाख रुपैयाँ विनियोजन गरिएको छ।
जलस्रोत तथा उर्जा
- सोलार खरिद जडान तथा सौर्य बत्ति जडानका लागी १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। ।
उल्लेखित योजनाहरु तथा अन्य उर्जा, लघु तथा साना जलविद्युत सम्बन्धित योजना तथा कार्यक्रम संचालन गर्न जम्मा 15 लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
सुशासन
- पालिकाका पदाधिकारीहरु,लेखा समिति, शुसासन समिति, संस्थागत क्षमता विकास समिति तथा विभिन्न विषयगत समिति र पालकिास्तरीय समितिहरुको क्षमता विकास कार्यक्रममा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। ।
- जनप्रतीनिधि कर्मचारीहरु र शिक्षकहरुको क्षमता विकास तथा अनुभव असल अभ्यास आदानप्रदान गर्न अन्य स्थानीय तह संग अनुभव आदान प्रदान कार्यक्रम तथा भ्रमण अवलोकनका कार्यक्रमका लागी आवश्यक बजेट विनियोजन गरिएको छ। ।
- सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थीत बनाउन वडा वडामा सामाजिक सुfरक्षा भत्ता वितरण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। ।
- गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र सबै माध्यमिक विद्यालयहरुमा नेटवर्किङ, सर्भर व्यवस्थापन तथा इन्टरनेट जडान, विस्तार र नविकरणका लागी २२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- गाउँपालिका अन्तर्गत सञ्चालित योजना, सेवाप्रवाह सम्बन्धमा सरोकारवालहरूसँग बार्षिक रूपमा सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, चौमासिक रूपमा सार्वजनिक सुनुवाई , बार्षिक समिक्षा लगायत सुशासन प्रवर्धनका लागी १२ लाख रुपैयाँ विनियोजन गरिएको छ। ।
- न्यायिक समितिको काम कारवाहीलाई प्रभावकारी बनाउन व्यवस्थित न्यायिक इजलास निर्माण साथै अन्य कार्यक्रमको लागी ४१ लाख विनियोजन गरिएको छ। ।
- नागरिकलाइ सेवा प्रवाहका विषयमा सुसुचित गराउनका गाउँपालिका तथा वडा कार्यालयहरुमा विद्युतीय नागरिक बडापत्र जडान गर्नका लागी २० लाख रुपैया विनियोजन गरिएको छ। ।
- पालिकाभित्र संचालनमा आएका व्यापार व्यवसायहरुमा हुन सक्ने उच्च मूल्य, समय गुर्जेका सामग्री गुणस्तरहिन बस्तु तथा सामग्री हरुलाइ समयसमयमा बजार अनुगमन गर्ने नीति लिइएको छ ।
उल्लेखित योजनाहरु तथा अन्य संस्थागत विकास, सेवा प्रवाह र सुशासन सम्बन्धि योजना तथा कार्यक्रम संचालन गर्न जम्मा १ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गैर सरकारी संस्था
- गाउँपालिकाभित्र क्रियाशील गैर सरकारी संस्थाहरूसँगको लगानी साझेदारीमा आधारीत कार्यक्रमका लागी ६ लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ।
वन, वातावरण तथा विपद् व्यवस्थापन
- सडक छेउछाउ बजार क्षेत्र सार्वजनिक क्षेत्र लगायतमा हरियाली प्रवर्धन कार्यक्रमका लागी ७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- जलवायु परिवर्तनको असर र न्युनिकरणका उपायबारे जनस्तरमा सचेतनामूलक कार्यक्रमका लागी ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
उल्लेखित योजनाहरु तथा अन्य वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनसम्बन्धि योजना तथा कार्यक्रमका लागी जम्मा 66 लाख 50 हजार रुपैयाँ तथा प्रकोप व्यवस्थापन कोषमा ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।
श्रद्धेय सभाध्यक्ष ज्यू,
अब म संघीय सरकार र गण्डकी प्रदेश सरकारको सशर्तर विशेष अनुदानबाट सञ्चालन हुनेगरी बाँडफाँड भएको योजना/कार्यक्रमहरुको खर्च अनुमान प्रस्तुत गर्न चाहन्छु।
संघिय सरकार सशर्त अनुदान
- शिक्षा, युवा तथा खेलकुदसँग सम्बन्धित योजना तथा कार्यक्रमको लागी १७ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- स्वास्थ्यसँग सम्बन्धित योजना तथा कार्यक्रमको लागी 4 करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- सामाजिक सुरक्षा, संरक्षण तथा लक्षीत वर्ग सम्बन्धित योजना तथा कार्यक्रमको लागी १६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- सडक, पुल तथा भवन निर्माणको लागी ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- खानेपानी तथा सरसफाई सम्बन्धित योजना तथा कार्यक्रमको लागी 40 लाख रुपैयाँ विनियोजन गरिएको छ।
- कृषि तथा पशुपंक्षी विकास सम्बन्धि कार्यक्रमका लागी १ करोड २३ लाखरुपैयाँ विनियोजन गरिएको छ।
- रोजगार प्रवर्द्धन कार्यक्रमका लागी ७४ लाख रुपैयाँ विनियोजन भएको छ।
विषेश अनुदान
- संघिय सरकार विशेष अनुदान कार्यक्रम तर्फ सार्दिखोला खानेपानी आयोजना र ल्वाङ्ग खानेपानी आयोजनाको लागी जम्मा १ करोड रुपैयाँ तथा प्रदेश सरकार विशेष अनुदान कार्यक्रम तर्फ नयाँपुल इदिखोला खानेपानी योजनाको लागी ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
समपुरक अनुदान
- संघिय सरकार समपूरक अनुदान तर्फ कोलचोक-रातोपानी पुल-भलावोट-पानपाते चौतारा-गा.पा केन्द्र-जोगिचौर-पातिखोला-भिडाबारी-गैह्रागाउँ-धिताल-धम्पुस देउराली सडकको लागी ८० लाख रुपैयाँ तथा प्रदेश सरकार समपूरक अनुदान तर्फ लुम्रे-कुइवाङ-सैतिघट्टा-सिधिङ-कालिमाटि-घलेल हुदै लुम्रे सडक योजनाको लागी ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
क्षेत्रगत बजेट बाँडफाँड
| क्र सं | क्षेत्र | रकम | कैफियत |
| १ | पूर्वाधार विकास | १३ करोड ३२ लाख | |
| २ | सामाजिक विकास | 7 करोड ४९ लाख ५१ हजार | |
| ३ | आर्थिक विकास | ३ करोड ३८ लाख ३० हजार | |
| ४ | वन वातावरण तथा विपद् व्यवस्थापन | ६६ लाख ५० हजार | |
| ५ | संस्थागत विकास सेवा प्रवाह तथा सुशासन | १ करोड ६९ लाख | |
| 6 | कार्यालय संचालन तथा व्यवस्थापन | 12 करोड 19 लाख | |
| 7 | सशर्त अनुदान | २४ करोड ५९ लाख | |
| जम्मा | ६3 करोड ३३ लाख ३१ हजार |
सभाध्यक्ष महोदय,
अब म उल्लेखीत क्षेत्रगत निति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागी स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट कायम हुन आएको स्रोत अनुमान र बजेट विनियोजन प्रस्तुत गर्न चाहन्छु ।
क ) आय अनुमान
| क्र.सं. | स्रोत /शिर्षकहरु | रकम रु. |
| १ | संघ वित्तीय समानीकरण अनुदान | १० करोड ७० लाख |
| २ | संघ राजस्व बाँडफाँड | १० करोड ५९ लाख ९१ हजार |
| ३ | शशर्त अनुदान | २४ करोड ५९ लाख |
| ४ | संघ समपूरक अनुदान | ८० लाख |
| ५ | संघ विशेष अनुदान | १ करोड |
| ६ | प्रदेश समानीकरण अनुदान | १ करोड १९ लाख ७२ हजार |
| ७ | प्रदेश समपुरक अनुदान | ५० लाख |
| ८ | प्रदेश विशेष अनुदान | ५० लाख |
| ९ | प्रदेश राजस्व बाँडफाँड | ६६ लाख ९८ हजार |
| १० | आन्तरिक आय | २ करोड ८० लाख |
| ११ | जिससगा. पा भवन अनुदान | ७५ लाख |
| १२ | अघिल्लो वर्षको अल्या | ७ करोड 99 लाख 9 हजार |
| १३ | घर जग्गा रजिष्ट्रेशन शुल्क | ६६ लाख |
| १४ | संघ रोयल्टी बाडफाँड | ५४ लाख |
| 15 | प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम | 3 लाख ६१ हजार |
| जम्मा | ६3 करोड ३३ लाख ३१ हजार |
ख) व्यय अनुमान :-
आगामी आ.व. २०७९/०८० का लागि कुल ६3करोड ३३ लाख ३१ हजार रुपैयाको व्यय अनुमान गरेको छु ।जसमध्ये प्रशासनिक खर्च १२करोड १९ लाख रुपैया रहेको छ । शसर्त अनुदान बजेट (शिक्षा सेवा, स्वास्थ्य सेवा, कृषि शाखा, पशु सेवा तर्फका कर्मचारीहरु तथा शिक्षकहरुको पारिश्रमिक खर्च र विकासात्मक क्रियाकलापहरु) तर्फ रु. २४ करोड ५९ लाख विनियोजन गरेको छु ।
- यो बजेटमा संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य अन्तर सरकारी अख्तियारी मार्फत प्राप्त भई खर्च हुने भएकोले सो बजेट समावेश गरिएको छैन।
सभाध्यक्ष महोदय,
करका दरहरुसमेत उल्लेख भएको आर्थिक विधेयक, 2079 तथा खर्चलाई व्यवस्थित गर्न बनेको विनियोजन विधेयक, 2079 समेत पेश गरेको छु ।
आदरणीय सभा सदस्यज्यूहरू
प्रस्तावित बजेट तर्जुमा गर्दासंघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट, गाउँपालिकाको आन्तरिक आयलाई स्रोत मानी गाउंपालिकाको प्राथमिकताका क्षेत्रहरु, नागरिकबाट आवश्यक ठानिएका योजनाहरु, नागरिक समाज, गैर सरकारी संस्थाहरु लगायत सम्पुर्ण महानुभावहरु सबैको अमुल्य सुझावलाई उपलव्ध श्रोत साधनको सिमा भित्र रहि समेट्ने प्रयास गरेको छु ।
गाउँपालिकाको स्रोत र क्षमता अनुसार विभिन्न समिति, उपसमितिहरु र गाँउ कार्यपालिकामा व्यापक छलफल गरी बजेटलाई सन्तुलित र दिगो बनाउने प्रयास गरिएको छ । गाउँपालिकाको स्रोत साधनले समेट्न नसकेका ठूला योजनाहरु प्रदेश सरकार र केन्द्रीय सरकारको सहकार्यमा संचालन गर्न स्रोतको व्यवस्था गरेको छु । थप योजनाहरुको संचालनको लागि प्रदेश सरकार र संघीय सरकारमा पहल गरिने व्यहोरा समेत अनुरोध गर्न चाहन्छु ।
अन्तमा, प्रस्तुत बजेट निर्माण कार्यमा आ–आफ्नो तर्फबाट सहयोग पुर्याउनुहुने सम्पुर्ण जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु,बुद्धिजिबीहरु, राजनैतिक दल, सरकारी, गैर सरकारी संघ संस्थाहरु, उद्योगी व्यवसायीहरु, नागरिक समाज, उपभोक्ता समितिहरु लगायत सरोकारवाला सम्पुर्णमाहार्दिक आभार व्यक्त गर्न चाहन्छु। बजेट कार्यान्वयनमा सरोकारवाला सबैको साथ सहयोग रहने अपेक्षा गरेको छु। प्रस्तुत बजेट र अनुसुचिमा संलग्न आयोजना तथा कार्यक्रमहरुलाई यस सम्मानित सभाबाट गहन छलफलका साथ रचनात्मक सुझाबको अपेक्षा सहित हार्दिक कृतज्ञता प्रकट गर्दछु।
धन्यवाद !!
सीता अधिकारी
गाउँपालिका उपाध्यक्ष एवं संयोजक
बजेट तथा कार्यक्रम तर्जुमा समिति
मिति:- 2079 असार १० गतेमाछापुच्छ्रे गाउँपालिका
